काठमाडौं । साहसिक खेलको मज्जा लिन अब काठमाडौं उपत्यकाभित्रै फरक गन्तव्य तयार भएको छ । भक्तपुरको घ्याम्पेडाँडामा अवको १५ दिन भित्रमा उद्घाटन हुने गरी जिपलाइन,स्काई साइक्लिङ, क्यानोपी र सोइङ तयार भएको हो ।
यो-यो जिपलाइन कम्पनीले सञ्चालनमा ल्याउन लागेको सो गन्तव्य भक्तपुरको सूर्यविनायकबाट करिब ७ किलोमिटर टाढा छ । जिपलाइनका सञ्चालक रामशरण तिमल्सेना सबै खेलहरु तयार भए पनि केही प्राविधिक र भौतिक संरचनाहरु निर्माण बाँकी रहेको बताए । आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई लक्षित रहेको सञ्चालक तिमल्सेनाको भनाई छ ।
परियोजनाको लगात करिब ५ करोड रुपैयाँ हो । १ हजार मिटरको जिपलाइन, स्काई साइक्लिङ, क्यानोपी ३/३ सय मिटरको दूरी र सुइङ ८० मिटरको रहेको त्यहाँ प्राविधिक सहयोग गर्दै आएका धुलिखेल जिपलाइनका सञ्चालक केदार थापाले जानकारी दिए ।
सुइङ भने तयारी भइसकेको छैन । निर्माणको अन्तिम चरणमा रहेकै कारण कहिलेबाट सञ्चालन गर्ने भनेर मिति भने तोकि नसकिएको उनको भनाई छ । भक्तपुरको प्रसिद्ध पर्यटकीय स्थलहरु पाइलटबाबा र रानीकोट नजिकै रहेकोले पनि यसलाई विशेषा चासोका साथ हेरिएको छ । ती गन्तव्यमा धेरै व्यक्तिहरु हाइकिङ जाने गरेका छन् ।
विशेष गरेर शनिबार र बिदाको दिन त्यस क्षेत्र मान्छेकाे घुइँचाे लाग्ने गरेको छ । जिपलाइन कम्पनीले कुन खेलको कति रकम लिने भन्ने जानकारी भने दिइसकेको छैन । समय सान्दर्भिक मूल्य राख्नका लागि आवश्यक गृहकार्य भइरहेकोले अहिलेनै मूल्य नतोकिएको सञ्चालककको भनाई छ ।
सूर्यविनायक नगरपालिका-७ का उपमेयर जुना बस्नेतले जिपलाइनले आन्तरिक एवम् बाह्य पर्यटकलाई लोभ्याउने विश्वास व्यक्त गरेकी छिन् । पदमार्ग, साईक्लिङ, मनोरम हिमालय दृष्यावलोकन, घुमफिर आदिको लागि प्रशिद्ध यो क्षेत्रमा जिपलाइन, स्काई साइकल, क्यानोपीलगायतका खेलहरु सञ्चालनले आन्तरिक एवंम वाह्य पर्यटकहरुलाई थप आकर्षित हुने र यसले समग्र सूर्यविनायक नगरपालिकाको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने उनले बताइन् ।
घ्याम्पेडाँडा रानीकोट गढी हावाघरबाट सुरु हुने साहसिक खेलहरु पाईलट बाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जान सकिन्छ । जिपलाइनसँगै रानीकोटमा पछिल्लो समय सुविधासम्पन्न होटलहरु समेत निर्माण भइरहेको छ । थापाको टिमले पछिल्लो समय देशका विभिन्न भागमा जिपलाइन र साहसिक खेलहरु सञ्चालको सम्भाव्यता अध्ययन समेत गर्दै आएका छन् ।