काठमाडौं । भ्रमण वर्ष २०२० राष्ट्रिय संयोजक बनेका सुरज बैद्यले पर्यटन मन्त्रालयमा कुनै कार्यक्रम र जानकारी प्रस्तुत नगरेको पर्यटन मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय संयोजक भएपछि गर्नु पर्ने कामको कार्यतालिका र योजना अगाडि नबढाएको भन्दै मन्त्रालय बैद्यसँग रुष्ट भएको हो । पर्यटनसम्बन्धी कार्यक्रमहरुमा उपस्थित नहुनुका साथै कार्यक्रम योजना प्रस्तुत नगरेको र निजी क्षेत्रका पर्यटन व्यवसायीहरुसँग समन्वय नगरेको भन्दै मन्त्रालयले बैद्यको कार्यशैलीप्रति रोष प्रकटसमेत गरेको छ ।
‘उहाँले अहिले कसरी काम गरिरहनुभएको छ ? त्यो मन्त्रालयलाई नै थाहा छैन,’ मन्त्रालयका एक उच्च अधिकारीले क्यापिटल नेपाललाई बताए । ‘उहाँ प्रधानमन्त्रीसँग नजिक हुनुहुन्छ, अहिले पर्यटनमन्त्री पनि प्रधानमन्त्री नै भएकाले उहाँले तालुक मन्त्रालयमा जानकारी नगराएको पनि हुन सक्छ,’ उनले भने ।
नेकपाको सरकार गठन लगत्तै २०२० भित्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ महत्वाकांक्षी योजना अगाडि बढाएको हो । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले घोषणा गरेको कार्यक्रम उनको निधनपछि सुस्त गतिमा अगाडि बढेको छ ।
भ्रमण वर्ष मनाउने निर्णय भएको करिब ६ महिनापछि संयोजकमा नियुक्ती भएका बैद्यलाई त्यहि बेला विरोध भएको थियो । पर्यटन क्षेत्रभन्दा बाहिरको व्यक्तिलाई भ्रमण वर्षको जिम्मेवारी दिएको भन्दै चौतर्फी विरोध भएपनि प्रधानमन्त्री ओलीको इन्ट्रेष्टमा वैद्यलाई जिम्मेवारी दिइएको थियो ।
स्व. अधिकारी रहँदासम्म केही मात्रामा भ्रमण वर्षको विषयमा छलफल र अन्तरक्रियाहरु अगाडि बढाइएको भएपनि प्रभावकारी रुपमा काम हुन सकेको थिएन । मन्त्री अधिकारीले आयोजना गर्ने अधिकांश कार्यक्रममा बैद्य उपस्थित हुँदैन थिए । नेपाल पर्यटन बोर्ड, होटल एसोसिएन अफ नेपाल(हान) लगायातका पर्यटन क्षेत्रसँग सम्बन्धीत संघसंस्थाको कार्यक्रममा पनि संयोजक बैद्यको उपस्थिति देखिँदैन ।
मन्त्री अधिकारीको निधनपछि हालसम्म पर्यटन मन्त्री नियुक्त हुन सकेको छैन् । अहिले संयोजक बैद्यले पर्यटन मन्त्री नभएकोले अधिकांश कामहरु अगाडि बढाउन नसकेको बताउँदै आएका छन् । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र सम्बन्धित कर्मचारीहरु अहिले भ्रमण वर्षका संयोजकको गतिविधि र कार्यशैली देखेर दिक्क भएका मन्त्रालयले स्रोतले जानकारी दियो ।
‘अहिले पर्यटन क्षेत्रभन्दा बाहिरको व्यक्तिलाई भ्रमण वर्षको जिम्मेवारी दिँदा देखिएको समस्या हो, उहाँले राम्रोसँग समय नै दिन सक्नुभएको छ्रैन,’ मन्त्रालय स्रोतले भन्यो । ‘संयोजकको काम गराईप्रति अहिले मन्त्रालयका सचिव ज्यू पनि दिक्क हुनुभएको छ,’ ती अधिकारीले भने, ‘हामीले भनेर केही हुनेवाला छैन ।’
भ्रमण वर्षका संयोजक सुरज बैद्यले आफ्नो ध्यान प्रचारमाभन्दा योजनामा अगाडि बढाइरहेको कारण मन्त्रालयका कर्मचारीहरुले गुनासो गरेको हुन सक्ने बताए । भ्रमण वर्षलाई नै लक्षितत गरेर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा समन्वय गरिरहेको उनको भनाइ छ । पर्यटनसँग सम्बन्धीत विभिन्न संघसस्थाहरुसँगको सहकार्यमा छलफल अगाडि बढिरहेको संयोजक बैद्यको भनाइ छ ।
भ्रमण वर्षको प्रचार प्रसारदेखि अन्य कार्यक्रमहरु समेत प्रभावकारी रुपमा अगाडि बढाउन नसकिएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । एकातिर सम्बन्धित मन्त्री नहुनु र अर्कोतर्फ संयोजकले मन्त्रालयको लागि समय नै नदिने गरेको कारण थप समस्या भएको उल्लेख छ । संयोजककै ढिला सुस्तीका कारण प्रदेश समितिहरु केही साताअघि मात्र गठन भएको थियो । स्व.अधिकारीले गत पुस महिनामा भएको मुलसमितिको बैठकमै तत्काल प्रदेश समिति गठन गर्न निर्देशनसमेत दिएका थिए ।
भ्रमण वर्षलाई नै लक्षित गरी १ सय नयाँ गन्तव्यबाट २० ओटा गन्तब्य छनोट गर्ने काम अझै टुंगिन सकेको छैन । मन्त्रालयले भ्रमण वर्ष २०२० मा २० गन्तव्य छनोट गरि आवश्यक पूर्वधार निर्माण गर्ने लक्ष्य लिएको थियो ।