काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका ठूला निक्षेपकर्ता र ऋणीको फाइल अध्ययन गर्ने भएको छ । उसले बैङ्क तथा वित्तीय संस्थालाई आन्तरिक लिखित सर्कुलर जारी गर्दै पाँच दिनभित्र २० ठूला ऋणी र निक्षेपकर्ताको फाइल (सम्पूर्ण विवरणसहित) केन्द्रीय बैङ्कमा पठाउन निर्देशन दिएको हो ।
पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाले व्यक्ति र संस्था हेरेर ऋण दिएको, व्यक्ति र संस्था हेरेर निक्षेप लिएको शङ्का गर्दै ठूला ऋणी र निक्षेपकर्ताको विवरण मागेको हो ।
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले ठूला ऋणी तथा निक्षेपकर्तालाई दिने ब्याज र लिने ब्याज आफूअनुकूल निर्धारण गरेको हुन सक्ने भन्दै उनीहरुको फाइल अध्ययन गर्नका लागि मागिएको जनाएको छ ।
विगत केही समययता उद्योगी÷व्यवसायीहरुले ब्याजदर बढी भयो भनेर सडक तताउने, सार्वजनिक मञ्चमा सरकार तथा राष्ट्र बैङ्कको आलोचना गर्न थालेपछि तुरुन्तै बैङ्क तथा वित्तीय संस्थाबाट यस्तो विवरणको खोजी गरिएको हो ।
उद्योगी÷व्यवसायीले अर्थमन्त्री डा. युवराज खतिवडाको समेत विपक्षमा देखिएपछि अर्थ मन्त्रालयकै निर्देशनमा केन्द्रीय बैङ्कले यस्तो गरेको बुझिएको छ ।
त्यति मात्रै होइन, राष्ट्र बैङ्कले निक्षेपको विवरण (खाता अवधि अनुसारको) तथा संस्थागत निक्षेपको एकीकृत विवरण (ब्याजदर समेत) पनि मागेको छ । त्यसैगरी, सहवित्तीयकरण लगानीअन्तर्गत प्रवाह भएको कर्जाको विवरण (लुज परिपासू) समेत मागेको हो । योसँगै संस्थाले लिएको पुनर्कर्जा र सापटीको विवरण, ब्याजदर, भाका नाघेकालगायत विवरण प्रस्ट हुने गरी पाँच दिनभित्र बुझाउन भनेको छ ।
नेपाल राष्ट्र बैङ्कमा पठाइएको गत आवको पछिल्लो त्रैमासको सम्पूर्ण फारम, विपन्न वर्ग कर्जा विवरण, ग्याप विश्लेषण, वैधानिक तरलता अनुपात (एसएलआर), अनिवार्य नगद अनुपात (सीआरआर) सेयर धितो कर्जा, घरजग्गा कर्जाको विवरणसमेत पाँच दिनभित्र उपलब्ध गराउन राष्ट्र बैङ्कले परिपत्र गरेको छ ।
गत आवमा खोलिएका शाखाको विवरण, सो सम्बन्धमा संस्थाले गरेको सम्भाव्य अध्ययन प्रतिवेदन, आम्दानी खर्चको विश्लेषण तथा शाखा, निक्षेप, कर्जा सापट तथा कार्यालय सञ्चालन खर्चसम्बन्धी अद्यावधिक विवरणसमेत उपलब्ध गराउन निर्देशन दिएको छ ।