काठमाडौं । यती एयरलाइन्सले (फागुनदेखि पूर्ण क्षमतामा आफ्ना जहाजहरु सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस(कोभिड–१९) का कारण पर्याप्त यात्रुहरु नभएपछि निश्चित जहाजहरु मात्र सञ्चालन गर्दै आएको यतीले फागुनदेखि सबै जहाज उडाउने भएको हो ।
यतीले हाल ३ वटा ‘एटीआर–७२’ र दुईवटा जेट स्ट्रिम विमानमार्फत उडान सञ्चालन गर्दै आएको छ । फागुनदेखि पाँचैवटै एटिआर जहाजलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए ।
एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख बर्तौलाले यतीको बजार हिस्सा कायम राख्दै आगामी दिनमा बजारलाई थप विस्तार गर्दै लैजान लागिएको जानकारी दिए ।
‘यती एयरलाइन्स प्रति यात्रुको विश्वास कायम राख्दै उडान सेवा र सञ्जाल विस्तार गर्न हामीले चाँडै नै ‘एटीआर–७२’ विमानसमेत थप गर्न लागेका छौँ ’ प्रवक्ता बर्तौलाले भने योसंगै यतीसंग ६ वटा एटीआर–७२ र ५ वटा जेट स्ट्रिम विमान हुनेछ’ ।
पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको यतीले दैनिक पोखरा ७, विराटनगर ५, भैरहवा ३, नेपालगञ्ज २, जनकपुर २, सिमरा ४, तुम्लिङटार २, भद्रपुर २ र माउण्टेन फ्लाईटका लागि २ वटा उडान भर्न लागेको हो ।
सबै भन्दा धेरै गन्तब्यहरुमा उडान भर्दै आएको यती एरलाइन्स र भगिनी संस्था तारा एयरले योसंगै दैनिक १०० भन्दा भन्दा बढि उडान गर्ने एयरलाइन्सल जानकारी दिएको छ ।