काठमाडौं । ओयो होटल एन्ड होम्स, दक्षिण एसियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठूलो, विश्वकै तेस्रो ठूलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रेन्चाइज होटल, घर र आवासले नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई नियुक्त गरेको छ ।
नेपालका सम्पूर्ण होटल सञ्चालकसँग सम्बन्ध प्रगाढ बनाउन, कर्मचारीबीच गहिरो संलग्नता कायम गर्न, यात्रुलाई उच्च गुणस्तरीय सेवा तथा विश्वाशिलो अनुभव प्रदान गर्न र नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै महत्त्वपूर्ण रणनीतिक बजार विस्तार गर्न योल्मो केन्द्रित रहनेछन् ।
योल्मो ११ वर्षभन्दा बढीको अनुभव भएका स्ट्याटिजिक बिजनेस म्यानेजमेन्ट स्पेस्यालिस्ट भएको कम्पनीले बताएको छ । आईआईटी दिल्लीबाट स्नातक तथा आईआईएम कलकत्ताबाट एमबीए गरेका योल्मो फुड, डेरी, एफएमसीजी, रिटेल र एग्री कमोडिटिजमा उत्कृष्ट मानिन्छन् । उनीसँग देवयानी फुड इन्डस्ट्री (क्रिमबेल डेरी), भीआरएस फुड (पारस डेरी), ओलाम इन्टरनेसनल, बाटा इन्डिया (रिटेल अपरेसन म्यानेजमेन्ट–फुटवेयर) तथा रिलायन्स रिटेल (प्राइभेट लेबल फुड–स्टेपल श्रेणी)मा कार्यानुभव छ ।
गो–टु–मार्केट र ग्रोथ ह्याकिङ स्ट्याटिजीबारे राम्रो ज्ञान भएका विक्कीले नेपालमा ओयोको पदचिन्ह फैलाउँदै होटल उद्योगमा सयौं थप आर्थिक अवसरहरु सृजना गर्न मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।
ओयो होटल एन्ड होम्सका भारत तथा दक्षिण एसियाका सीईओ आदित्य घोषले विक्कीको नियुक्तिबारे आफ्नो धारण राख्दै भने, ‘ओयो परिवारमा विक्की योल्मोलाई स्वागत गर्न पाउँदा म अत्यन्तै खुसी छु । हामीसँग नेपालका लागि आक्रामक विस्तार योजनाहरु छन् र हामी अतिथिहरुका लागि उच्च गुणस्तरीय आवास र होटल सञ्चालकहरुलाई उच्च प्रतिफल प्रदान गर्न प्रविधि र प्रतिभामा लगानी गरेर आतिथ्य परिदृश्यलाई रुपान्तरण गर्दै आएका छौं ।’
नववियुक्त बन्ट्रहेड विक्की योल्मोले भने, ‘ओयोले आफ्नो नवीनतम बिजनेस मोडलबाट भारतलगायत विश्व आतिथ्य उद्योगमा नयाँ इतिहास रचेको छ । म ओयोमा असाधारण प्रतिभा भएका जोशिला टोलीका साथ नेपालमा ठूलो भूमिका निर्वाह गर्दै ब्रान्डको उपस्थितिलाई बलियो बनाउने आशा राखेको छु ।’
नेपालमा ओयो चेनका काठमाडौं, पोखरा, भक्तपुर, धुलिखेल, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीलगायत २१ ओटा सहरमा ३३० भन्दा बढी होटल र ५५०० भन्दा बढी कोठा सञ्चालन गरेको छ ।