काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई इन्धनको मूल्य समायोजनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको प्रस्तावअनुसार मन्त्रालयले केही समयअघि मात्र वाणिज्य मन्त्रालयलाई पत्र पठाएको हो ।
हवाई इन्धनको मूल्य नेपालमा चर्को भएको भन्दै एयरलाइन्सहरूले विरोध गरिरहेको बेला पर्यटनले विशेष चासोका साथ पत्र पठाएको हो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार अन्तर्राष्ट्रिय रूपमा प्रचलित मूल्य नेपालमा पनि कायम गर्नका लागि आग्रह सहितको पत्रचार गरिएको जानकारी दिए ।
पूर्वमन्त्री योगेश भट्टराईले हवाई इन्धनको मूल्य चर्को भएको भन्दै अन्तरमन्त्रालय समन्वय सुरु गरेका थिए । उनकै पहलमा प्राधिकरणले वाणिज्य मन्त्रालयसँग छलफलका लागि प्रस्ताव पठाएको थियो । पूर्वपर्यटन सचिवको नेतृत्वमा गठन भएको एक समितिले नेपालमा हवाई भाडा महँगो हुनुको मुख्य कारण हवाई इन्धन भएको निश्कर्ष निकालेको थियो ।
अहिले आयल निगमले अन्तर्राष्ट्रिय उडानका एयरलाइन्सहरूलाई प्रतिलिटर ४१ रुपैयाँ नाफा बढी लिएर इन्धन बिक्री गरिरहेको छ । हवाई इन्धनमा अधिक नाफा लिएको भन्दै निगमको चौतर्फी विरोध हुँदासमेत मन्त्रालयले यस विषयमा कुनै निर्णय गरेको छैन ।
पर्यटनले पठाएको प्रस्तावमाथि अनौपचारिक रूपमा केही चरणमा छलफलसमेत भए पनि निश्कर्षमा भने पुगिनसकेको सहसचिव लामिछानेको भनाइ छ । उद्योग मन्त्रालयले मात्र चाहेर मूल्य समायोजन गर्न नसक्ने भएकाले अर्थ मन्त्रालयले समेत यसमा स्वीकृति दिनुपर्ने जनाएको छ । त्यसका लागि पनि आवश्यक छलफल र समन्वय भइरहेको मन्त्रालयको भनाइ छ ।
नेपालमा हवाई इन्धनको मूल्य चर्को भएकै कारण यहाँ आउने अधिकांश जहाजहरूले विदेशबाटै इन्धन भरेर आउने गरेका छन् । नेपालबाट फर्कन सक्ने र बीचमा इन्धन हाल्न मिल्ने गरी जहाज लिएर आउँदा यात्रुहरू भरि नल्याउने गरेका छन् ।
तर, उनीहरूले यात्रुहरूबाट भने जहाजभरीकै यात्रुहरूको हिसाब गरेर टिकट बिक्री गरेको पाइएको छ । जसको कारण अन्य मुलुकमा भन्दा नेपालको हवाई भाडा महँगो भएको छ ।
हवाई भाडा महँगो भएकै कारण विदेशी पर्यटकहरूसमेत प्रभावित भएको पर्यटन व्यवसायीहरूको भनाइ छ । नेपाल आउने जहाजको टिकटले अन्य मुलुकमा घुम्नसमेत खर्च पुग्ने अवस्था आउँदा समस्या भएकाले यसतर्फ सरकारले विशेष ध्यान दिन आवश्यक रहेको पर्यटन व्यवसायी युवराज श्रेष्ठको भनाइ छ ।