काठमाडौं । भारतको कुवेर ग्रुपको प्रवेशपछि आक्रामक रूपमा लगानी विस्तार गर्न थालेको सौर्य एयरलाइन्सको ४ वटा इन्जिन अमेरिकामा थन्किएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को खोप ओसारपसारका लागि जेट विमानहरू अधिक प्रयोग हुन थालेपछि सौर्यले अमेरिकाबाट चार्टर्ड गरेर इन्जिन ल्याउन नपाउँदा समस्या भएको महाप्रवन्धक गोपाल भट्टराईले जानकारी दिए ।
नेपालमा कोभिड सुरु हुनुभन्दा केही समय अघिबाट मात्र ग्राउण्डेड भएका सौर्यको जहाजको इन्जिनमा समस्या आएको थियो । इन्जिनमा समस्या आएपछि अहिले व्यवस्थापनले नयाँ ल्याउन लागेको छ । त्यसका लागि आवश्यक पार्टपुर्जाहरू अमेरिकाको विभिन्न सहरमा खरिद गरिएको महाप्रवन्धक भट्टराईले बताए ।
तीनवटा सीआरजे जहाज रहेको सौर्यको हाल १ वटा मात्र जहाज सञ्चालनमा छ । २ वटा जहाज ग्राउण्डेड रहेकाले तिनीहरूलाई आवश्यक इन्जिनसहित एस्क्ट्रा खरिद गरेर ल्याउन लागे पनि चार्टर्ड गर्ने जहाज नपाएकाले आफूहरू समस्यामा परेको बताए ।
चार्टर्ड गर्ने जहाज नपाएपछि अहिले विभिन्न एयरलाइन्ससँगको सहकार्यमा ती सामग्रीहरू ल्याउन लागिएको छ । विभिन्न एयरलाइन्ससँग सहकार्य गरेर ल्याउँदा सबै सामानहरू एकै पटक ल्याउन नसक्ने भएकाले केही समय लाग्ने उनले बताए ।
एकै पटक सामान ल्याउन नसक्दा जहाजसमेत एकैपटक चलाउन आफूहरूलाई समस्या भएको बताउँदै अबको एक महिना भित्रमा अर्को जहाज सञ्चालन गर्ने योजनामा आफूहरू लागेको बताए ।
सन् २०१४ बाट नियमित उडान सुरु गरेको सौर्यले अहिले आन्तरिक बजारमा तीव्र प्रतिस्पर्धा गर्न सकिरहेको छैन । अब कुवेर ग्रुपको प्रवेशपछि बजारमा आक्रामक प्रतिस्पर्धामा आफूहरू जानका लागि एटीआर जहाज ल्याउन लागेको समेत महाप्रबन्धक भट्टराईले बताएका छन् ।
सौर्यले सन् २०२२ देखिनै एटीआर मार्फत उडान गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिइसकेको जनाएको छ । अहिले सौर्यले विराटनगर, भद्रपुर र भैरहवामा नियमित उडान गर्दै आएको छ ।