काठमाडौंं । नयाँ जहाजको आगमनसँगै बुध्द एयरले आक्रामक बजार विस्तार गर्न लागेको छ । काठमाडौं बाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको जहाजपछि बुध्द एयरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाज हुनेछन् ।
कोभिड–१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रामक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ । यस अनुसार बुध्द एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरी तालिका समेत बनाइसकेको छ । ‘अब हामी दैनिक १०० भन्दा बढी उडान भर्नें,’ बुध्द एयर मार्केटिङ सेल्स निर्देशक रुपेश जोशी बताउँछन् ।
‘समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौं, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने मार्कटिङ सेल्स निर्देशक रुपेश जोशी बताउँछन् । अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरी उडान विस्तार गर्ने बुध्द एयरले विज्ञप्तिमा जनाएको छ ।
यसबाट यात्रुले आफूखुसी अनुकूल समयमा हवाई यात्रा गर्नसक्छन् । अझ कर्पोरेट बिजनेस सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन् । थपिएको जहाजबाट हामीलाई नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताए ।
साे एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाइट पनि गरिरहेको छ ।
भारतको वनारस उडान दुवै देशको स्वीकृत पछि पुनः थाल्नेछन् ।