काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बन्द रहेका ११ वटा एयरलाइन्सको बक्यौता रकम उठाउन ताकेता गरेको छ ।
प्राधिकरणले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै ३० दिनभित्र बक्यौता रकम नतिरे सञ्चालकको एकाघरको सम्पत्ति लिलाम गर्ने तयारी रहेको बताइएको छ । बन्द भएका ती एयरलाइन्सबाट प्राधिकरणले ९ करोड ६८ लाख रुपैयाँ उठाउन बाँकी छ ।
बक्यौता रकम तिर्न पटक-पटक आग्रह गर्दा पनि बेवास्था गरेको भन्दै प्राधिकरणले सूचना नै प्रकाशन गरेको छ । रकम नतिर्ने एयरलाइन्सहरुमा गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, एयर काष्ठमण्डप र नेपाल एयरवेज छन् ।
प्राधिकरणको सूचनाअनुसार रकम नबुझाए भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिनेछ ।
योसँगै सञ्चालक, उनीहरुको एकाघरका परिवारको एवं जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकी सरह असुल गरिने पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणले एयरलाइन्सको नामसहित सञ्चालकहरुको समेत नाम सार्वजनिक गरेको छ ।