काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटक आगमन न्यून रहेको बेला काठमाडौंमा रहेको तारे होटलबीच ग्राहक तान्ने होडबाजी सुरु भएको छ ।
बाह्य पर्यटकहरू आउने क्रममा केही सुरु भएसँगै आफूतिर तान्न तारे होटलबीच मूल्यमा तीब्र प्रतिस्पर्धा हुन थालेको हो । कोभिडको खोप लगाउन सुरु भएसँगै विदेशी र स्वदेशी पर्यटकहरू घुमघाममा निस्कन थालेका छन् । उनीहरूलाई लक्षित गरी अहिले तारे होटलहरूले आधाभन्दा बढी सस्तोमा रूम दिन थालेका छन् ।
अहिले राजधानीका केही पाँचतारे होटलले एकतारे सरहको मूल्यमै रूम दिन थालेका छन् । जसको कारण एकतारे होटलमा बस्न आउनेहरू पनि पाँच तारेमा जान थालेको होटल व्यवसायीहरूको भनाइ छ ।
पाँचतारे होटलले ४ हजार ५ सयदेखि ५ हजार ५ सय रुपैयाँसम्ममा रूम दिन थालेका छन् । जुन मूल्य एकतारे होटलहरूको भन्दा सस्तो हो । ‘हामीले लिने मूल्यमै पाँचतारे होटलले रूम दिन थालेपछि ग्राहकहरू उतै जान थालेका छन्’, तारे होटलका एक सञ्चालकले क्यापिटलसँग भने ।
एक तारेको रूमको मूल्यले पाँचतारे होटलमै बस्न पाउने भएपछि अहिले धेरै ग्राहकहरू त्यसतर्फ आकर्षित हुन थालेका हुन् । कोभिडपछि तीन तारेसम्मका होटलहरूमा केही ग्राहकहरू आउन थालेका थिए ।
तर, पछिल्लो समय पाँचतारे होटलले मूल्य घटाएर ग्राहकलाई दिन थालेपछि आफूहरूको व्यवसाय समस्यामा पर्न थालेको एकतारे होटलका सञ्चालकहरूको भनाइ छ ।
‘उहाँहरू अहिले आफ्नो न्यूनतम मूल्यभन्दा धेरै घटाएर ग्राहकहरूलाई रूम दिन थाल्नु भएको छ, एक सञ्चालकले भने जसको कारण हामी समस्यामा पर्न थालेका छौं ।’
अहिले काठमाडौंमा मूल्य घटाएर रूम दिने पाँचतारे होटलमा एभरेष्ट होटल र शंकर होटल लगायतका छन् । उनीहरूले धमाधम साना होटलमा बस्ने ग्राहकहरुलाई त्यहीको मूल्यमा कोठा दिएर आफ्नोमा आकर्षित गराइरहेका छन् । अहिले काठमाडौंका तारे होटलको अकुपेन्सी २ प्रतिशत मात्र रहेको होटल संघले जनाएको छ ।