काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीलाई भुल्दै नेपालीहरू घुमघाममा निस्कन थालेका छन् । घुमघाममा निस्कँदा आन्तरिक पर्यटनलाई केही राहत पुगेको छ ।
पर्यटक नै नआएर सुनसान जस्तै बनेको प्रमुख पर्यटकीय गन्तव्यहरू अहिले भरिभराउ हुन थालेका छन् । राजधानी काठमाडौं बाहिरका होटलहरूको अकुपेन्सी बढ्न थालेको छ ।
अहिले मानिसहरूले कोभिडलाई ‘न्यू–नर्मलको’ रूपमा लिएर घुमघाममा निस्कँदा उपत्यका बाहिरका सौराहा, पोखरा, धुलिखेल, नगरकोट लगायतका क्षेत्रमा शुक्रबार र बिदाको दिन होटलमा कोठासमेत पाउन मुस्किल हुन थालेको छ ।
पछिल्लो समय राजधानीभन्दा बाहिर विभिन्न संघ–संस्थाहरूले सभा र सेमिनारहरू समेत गर्न थालेका छन् । यहाँको भीडभाडबाट केही समय मुक्त हुने सोचका साथ पनि मोफसलमै कार्यक्रमहरू हुन लागेका कारण होटलहरू भरिभराउ हुन थालेका हुन् ।
जंगल सफारी लजका सञ्चालक एवं क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बिदाका दिन घुम्न आउनेहरूको संख्यामा वृद्धि भएको बताए ।
सभा, सेमिनार र गोष्ठीहरूसमेत पछिल्लो समय चितवनमा धेरै हुन लागेको उनले जानकारी दिए । कोभिडपछिको होटलको अवस्था अहिले सन्तोषजनक रहेको बताउँदै १८ देखि २० प्रतिशत होटलको अकुपेन्सी रहेको बताए ।
सन् २०२१ सुरु भएपछि सौराहामा घुम्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको व्यवसायीको भनाइ छ । काठमाडौंबाट नजिक र शान्त वातावरण भएकाले पनि अधिकांशको रोजाइ चितवन र सौराहा परेको त्यहाँका व्यवसायीहरूको भनाइ छ ।
सौराहा मात्र होइन पोखराका होटल व्यवसायसमेत अहिले फस्टाउँदै गएको छ । घुमघाममा निस्कनेहरूको रोजाइमा पोखरा पर्ने गरेको छ । त्यहाँका पर्यटन व्यवसायीहरूका अनुसार आन्तरिक पर्यटकको आगमनले केही चलायमान भएको छ ।
होटल रानीवन आर्किटका सञ्चालक हरि भुजेलका अनुसार अपेक्षा गरेको भन्दा बढी नै आन्तरिक पर्यटकहरू पोखरामा आउन थालेको बताए । कोभिडले ठप्प भएको त्यहाँको पर्यटन पर्यटनलाई चलायमान बनाउन फेवातालको बोटिङ, प्याराग्लाइडिङ, रेष्टुराँ र होटलहरूमा दिएको छुटको कारण व्यवसाय बढ्ने अवस्थामा पुगेको उनको भनाइ छ । पोखराको साइड सिनकै लागि धेरै पर्यटकहरू आउन थालेका छन् ।
अहिले पोखरामा घुम्न आउनेहरूका लागि होटलहरूले ६० देखि ६५ प्रतिशतसम्म छुट दिन थालेका छन् । अर्थात ४ हजारदेखि ५ हजारसम्म पर्ने कोठालाई अहिले २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्ममा दिन थालेका छन् ।
यति मात्र होइन, प्याराग्लाइडिङमा आधा छुट दिन थालिएको छ । अरू बेला ७ देखि ९ हजारसम्म पर्ने गरेकोमा अहिले ३ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्मै गराई रहेको व्यवसायीको भनाइ छ ।
एयरलाइन्सहरूले समेत सस्तोमा टिकट बिक्री गर्न थालेका छन् । बसको टिकटको मूल्यमा एयरलाइन्सको टिकट पाएकाले पनि धेरै पर्यटकहरू घुमघाममा निस्कन थालेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
काठमाडौं नजिकैको भक्तपुरको रानीकोटमा रहेको होटलहरूसमेत भरिभराउ हुने गरेका छन् । राजधानी नजिकै भएकाले त्यहाँ हाइकिङ र ट्रेकिङमा जाने पर्यटकहरूको भीडभाड हुने गरेको हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बाकेले जानकारी दिए ।
त्यति मात्र होइन, त्यहाँ विभिन्न सेमिनारहरू र वनभोजका लागि समेत मानिसहरू जान थालेका छन् । कोरोनालाई भुल्दै आन्तरिक पर्यटकहरू घुमघाममा निस्कनेको संख्या बढेको उनको भनाइ छ ।
अर्को पर्यटकीय गन्तव्य नगरकोटमा रहेको क्लब हिमालयका सेल्स डाइरेक्टर प्रमिता शाक्यका अनुसार अहिले आन्तरिक पर्यटकहरूले बिदाको दिन भरिभराउ हुने गरेको छ । अन्य बेला विदेशी पर्यटकहरूले भरिभराउ हुने सो होटलमा पछिल्लो समय आन्तरिक पर्यटकहरूले नै भरिभराउ हुन थालेको शाक्यले जानकारी दिइन् ।
अहिले होटलले भ्यालेन्टाइन डेलाई लक्षित गरी विशेष प्याकेजहरू ल्याइरहेको उनको भनाइ छ । पहिले विदेशीहरूलाई विशेष फोकस गरिरहेको सो होटलले अहिले भने नेपालीहरूलाई नै लक्षित गरी प्याकेजहरू ल्याइरहेको हुँदा धेरैको रोजाइ पर्न थालेको उनले बताइन् ।
आन्तरिक पर्यटकहरूको अर्को आकर्षक गन्तव्यको रूपमा दोलखाको कालिञ्चोकलाई पनि लिने गरिएको छ । अहिले हिउँ परेसँगै त्यहाँका होटलहरू भरिभराउ हुन थालेको कन्ट्री भिल्लाका सञ्चालक नोर्बु तामाङले जानकारी दिए । कोभिडले थला परेको त्यहाँका पर्यटन व्यवसायीहरू अहिले भने केही उत्साहित हुन थालेको उनले सुनाए ।
इलाममा रहेको श्री अन्तुमा पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । चिया बगानसँगै रहेको त्यहाँका होमस्टेहरू भरिभराउ हुन थालेका त्यहाँका व्यवसायी रुद्रश्री घिमिरेले जानकारी दिए ।
यता काठमाडौंमा रहेको तारे होटलहरूको बुकिङ भने अत्यन्त न्यून छ । साना होटलहरूमा केही ग्राहकहरू आए पनि विदेशीहरू नआएकै कारण बुकिङमा समस्या भएको होटल एसोसिएसन अफ नेपाल(हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । अहिले काठमाडौंका होटलहरू र तारे होटलहरूको अकुपेन्सी २ प्रतिशत रहेको उनले बताए ।