काठमाडौं । नेपाल वेयर हाउस कम्पनीले सुनसरीमा निर्माण गरेको देशकै ठूलो गोदाम आउँदो चैतसम्म सञ्चालनमा आउने भएको छ । वेयर हाउमा व्यावसायिक घराना निम्बस ग्रुपको ३५ प्रतिशत लगानी छ । गहुँ, मकै र भटमास जस्ता खाद्यान्न तथा दाना उद्योगजन्य वस्तुको संकलन गरी खरिद–बिक्री गर्न गोदाम निर्माण गरिएको हो ।
सुनसरीको औराबनीमा १५ हजार मेट्रिक टनको गोदाम निर्माणको अन्तिम अवस्थामा छ । हालसम्म गोदाम निर्माण ८० प्रतिशत सकिएको र आउँदो चैतभित्र सञ्चालनमा आउने वेयर हाउस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जयमुकुन्द खनालले क्यापिटल नेपाललाई जानकारी दिए ।
खासगरी, गहुँ, मकै र भटमासजन्य वस्तुलाई स्टोर गरेर राख्न गोदाम निर्माण गरेको उनको भनाई छ । गोदाममा संकलित वस्तुको खरिदकर्ता र बिक्रेतालाई जोड्ने गरी सेवा दिने कम्पनीको लक्ष्य छ ।
गहुँ, मकैं र भटमासको गुणस्तर जाँच तथा प्रयोगशाला परीक्षण गरेपछि मात्र गोदाममा संकलन गरिने भएको छ । त्यसबापत कम्पनीले गहुँ बिक्रेताले निश्चित भाडाबापतको शुल्क लिनेछ ।
यदि बिक्रेतालाई तत्काल पैसा चाहिएको छ भने कम्पनीले आफैं धरौटी बसेर बैंकमार्फत रकम लिन सक्नेछन् । कम्पनीले दिएको भौचर वा संकलित गहुँको बेच्ने रकमका आधारमा बैंकले ग्यारेन्टी राखेपछि उसले ग्यारेन्टीका आधारमा रकम दिनेछ । त्यसका लागि बैंकका शाखा पनि राख्ने कम्पनीको तयारी छ ।
अहिले सुनसरीको औराबनीमा १५ हजार मेट्रिक टन, पर्साको बिरुवागुठीमा २५ हजार टन, कपिलवस्तुको बिरपुरमा १५ हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण तीव्र रुपमा भइरहेको खनालले बताए ।
सुनसरीको गोदाम सबैभन्दा पहिला सञ्चालनमा आउनेछ । कम्पनीका अनुसार, यदि कुनै बिक्रेताले सुनसरी गोदाममा जम्मा गरेको गहुँ भैरहवाको उद्योगलाई चाहिएको छ भने कपिलवस्तुको गोदामबाट दिन सक्ने व्यवस्था हुनेछ । यसले बिक्रेताको ढुवानी तथा ढुवानी लागतमा कमी आउनेछ । कम्पनीले बल्क लेभल वा ट्रान्सपोटेसनका लागि ट्रंकमार्फत सस्तो ढुवानी दिइनेछ ।
तीन ठाउँमा निर्माण भएका गोदामका लागि कम्पनीले आफ्नो इक्विटी र बैंकबाट ऋण लिएको छ । खासगरी एभरेष्ट बैंक, एसबीआई बैंक, बैंक अफ काठमाण्डु, हिमालयन बैंक, निम्बस होल्डिङ, एनएमबी बैंकलगायतको कम्पनीको लगानी छ ।
तीनवटै ठाउँमा निर्माण भइरहेका गोदामका लागि हालसम्म ७० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । हालसम्म सुनसरीस्थित गोदामको ८० प्रतिशत, पर्सास्थित गोदामको ३० प्रतिशत र कपिलवस्तुस्थित गोदामको १० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
आउँदो असार मसान्तसम्म तीनवटै वेयर हाउस सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्नेमा पछिल्लो कोरोना महामारीले ८ महिना काम ठप्प हुन पुग्यो ।
यसले गोदाम निर्माणमा केही ढिला हुन पुगेको कम्पनीले जनाएको छ । तीनवटै गोदाम निर्माण पूरा हुँदासम्म झन्डै १ अर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने कम्पनीको आकंलन छ ।