काठमाडौं । सीआरजे जहाजमार्फत उडान गर्दै आएको सौर्य एयरलाइन्सले अबदेखि एटीआर जहाजमार्फत उडान गर्ने भएको छ । सीआरजेमार्फत उडान गर्दा भाडादेखि सञ्चालन खर्चहरु बढी हुने भएको भन्दै बजारमा प्रतिस्पर्धा गर्नकै लागि एटीआर जहाज ल्याउन लागिएको सौर्यका महाप्रवन्धक गोपाल भट्टराईले जानकारी दिए ।
सौर्यका हाल तीनवटा जहाजमध्ये १ वटा जहाज मात्र सञ्चालनमा छन् । यस्तै २ वटा ग्राउण्डेड छन् । एटीआर जहाज ल्याउन सौर्यले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पनि अनुमति लिइसकेको छ ।
सौर्यले एटीआर जहाज भाडामा ल्याउने तयारी गरेको हो । सुरुमै नयाँ खरिद गर्नेभन्दा केही समय भाडामा ल्याएर चलाउने र पछि खरिदसम्मको योजना बनाएको महाप्रवन्धक भट्टराईको भनाई छ ।
‘सधैं घाटाको व्यापार मात्र गर्नुभन्दा यस्ता जहाजहरुलाई विस्तारै विस्थापन गर्दै एटीआर ल्याउने निर्णय गरिएको हो, महाप्रवन्धक भट्टराईले क्यापिटल नेपालसँग भने, ५ वटासम्म जहाज ल्याउने तयारीमा छौं ।’
विश्वभर कोरोना भाइरस (कोभिड–१९) को खोपसमेत आइसकेको हुँदा आगामी बर्ष भित्रमा पर्यटन क्षेत्रमा नयाँ आशा आउने भएकोले सन् २०२२ को सुरुवातमै एटीआर जहाज मार्फत उडान गर्ने योजना बनाएको उनले बताए ।
मन्त्रालयबाट अनुमति लिए पनि प्राधिकरणमा आवश्यक प्रक्रियाहरु पुरा गर्न ८ देखि १० महिनासम्म लाग्ने भएकाले २०२२ को सुरुवातदेखि नै सञ्चालन हुने गरी आवश्यक तयारी अगाडि बढाइएको उनको भनाई छ ।
एटीआरले छोटो दूरीको गन्तव्यमा उडान गर्ने छ भने सीआरजेले लामो दुरी र क्षेत्रीय उडानहरु गर्ने योजना उनले सुनाए । एटीआर जहाज ल्याएपछि बजारको भाडादर प्रतिस्पर्धी हुने उनको भनाई छ ।
सौर्यले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत क्षेत्रीय उडान गर्ने योजना बनाएको छ । यती मात्र हैन, अन्तर्राष्ट्रिय उडान भारत र बंगलादेशमा समेत गर्ने सोच बनाएको छ । भएका जहाजहरु तयार गरेर त्यसका लागि अनुमति लिने योजना भने सौर्यले बनाइसकेको छ ।
सुरुमा २ वटा एटीआर जहाज ल्याउने र त्यसको चारमहिनापछि ५ वटासम्म जहाज ल्याउने योजना बनाएको छ । सीआरजे जहाज भने नथप्ने योजना सौर्यको छ ।
भारतको कुबेर ग्रुपले दुबईमा कम्पनी खडा गरेर सौर्यलाई जहाज दिइरहेको छ । कागजी रुपमा पूर्णतया सो ग्रुप नेपालमा प्रवेश भने गरिसकेको छैन । भारतको प्रसिद्ध कम्पनीको रुपमा रहेको कुवेर ग्रुपले सौर्यमा ठूलो लगानी गरिएको छ भनिए पनि हालसम्म कति रकम ल्याउन लागिएको हो भने खुलाइएको छैन ।
कागजी प्रक्रियाहरु बाँकी रहेकै कारणले अहिले नै यति रकम ल्याउन लागिएको छ भन्ने विषयमा खुलाउन नसकिने महाप्रवन्धकको भनाई छ । सौर्यमा कुबेर ग्रुपको ४९ र हालका सञ्चालकहरुको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ ।
सन् २०१४ बाट सुरु भएको सो एयरलाइन्समा १४ जना सञ्चालकहरु रहेका थिए । हाल ९ जना मात्र छन् । ती मध्ये पनि सौर्यका अध्यक्ष र महाप्रवन्धक मात्र सक्रिय छन् ।
झापा, विराटनगर र काठमाडौंलाई मूख्य थलो बनाएर व्यापार गर्दै आएका व्यवसायीहरुद्धारा सञ्चालनमा रहेको सौर्यका मूख्य लगानीकर्ताको व्यवसाय भनेको चिया उद्योग, पेट्रोलपम्प र घरजग्गा व्यवसाय हो । यस्तै अध्यक्ष दीपक पोखरेलको चिया, घरजग्गा र साना साना उद्योगमा लगानी छ ।
सौर्यले हाल विराटनगर, भद्रपुर, भैरहवामा उडान गरिरहेको छ । अर्को जहाज तयार भएपछि धनगढी, नेपालगञ्जसहित सीआरजे जहाज जान सक्ने ठाउँमा उडान गर्ने उनले बताए ।