काठमाडौं । कुरा २७ दिन अघिको हो । अर्थात पुस २४ गते बसेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिको बैंठकमा जनरल सेल्स एजेन्ट (जीएसए) को नवीकरणको विषयमा चर्चाचर्की भयो ।
त्यही बेला एक जना सञ्चालकले महाप्रबन्धक डिमप्रकाश पौडेलले भारतको जीएसए नवीकरणको बेला ६० लाख रुपैयाँ लिएको चर्चा चलेको विषयमा प्रश्न उठाए । त्यही बेला अर्का सदस्यले पनि मैले पनि बजारमा त्यही कुरा सुनेको छु, महाप्रवन्धकज्यू वास्तविकता के हो ? भनेर प्रश्न गरेका थिए ।
तर, यस विषयमा महाप्रवन्धक पौडेलले कुनै प्रतिक्रिया नै नदिएर अर्को विषयमा प्रवेश गराएका थिए । बैठकमै रहेका केही सदस्यहरुले भने यस विषयमा शंका गरेर प्रश्न तेर्साए पनि महाप्रवन्धक पौडेल भने यस विषयमा मौननै रहे ।
सञ्चालक समितिलाई नै जानकारी नगराई एक्लौटी रुपमा म्याद थप गरेको भन्दै विरोध जनाइरहेको बेला महाप्रवन्धक पौडेल माथि ६० लाख रुपैयाँ लिएको समेत चर्चा चलेको एक सञ्चालकले क्यापिटललाई जानकारी दिए ।
सञ्चालक समितिका एक सदस्य केही समयअघि भारतमा जाँदा त्यहाँका ट्राभल एजेन्सीहरुबीच निगमको जीएसए नवीकरणको बेला ६० लाख रुपैयाँ लिएर नबीकरण गरेको चर्चा चलेको सुनाए ।
तर, यस विषयमा महाप्रवन्धक पौडेलले भने कुनै जवाफ नदिएको सञ्चालकहरुको भनाइ छ । महाप्रवन्धक पौडेलले भारतसहित यूएई र चीनको समेत जीएसए नवीकरण गरेका थिए । सञ्चालक सदस्यहरुले भने खुला प्रतिस्पर्धाबाट नयाँ जीएसए छनौट गर्नुपर्ने अडान राख्दै आएका छन् ।
महाप्रवन्धक एक्लैले निर्णय गरेको भन्दै सोही दिनको बैठकमा सञ्चालक समितिका सदस्य अच्यूत पहाडीले फरक मत (नोटअफ डिसेन्ट) लेखेका थिए ।
यता महाप्रवन्धक पौडेलले भने जीएसए नियुक्ति खुला प्रतिस्पर्धाबाटै गराउने पक्षमा आफू रहेको र त्यसको प्रक्रिया पूरा गर्दासमेत केही समय लाग्ने भएकोले तीन महिनाको लागि म्याद थप गरेको प्रतिक्रिया दिएका थिए । ६० लाख रुपैयाँ लिएको हल्लाको विषयमा प्रतिक्रिया लिन खोज्दा भने उनको मोबाइल स्वीच अफ छ ।
निगममा जीएस नियुक्ति र नवीकरणमा मात्र हैन विभिन्न मुलुकमा कर्मचारी खटाउँदासमेत मोटो रकम लिने गरेको चर्चा यस अघिदेखि नै चल्दै आएको छ ।
राम्रो मुलुकमा निगमका कर्मचारीहरु जानलाई १० देखि ३० लाख रुपैयाँ समेत खर्च गरेको चर्चा चल्दै आएको छ । यती मात्र हैन, ती मुलुकहरुमा जान र पठाउनका लागि राजनीति दबाबसमेत महाप्रवन्धकलाई दिने गरेका छन् ।
निगम आर्थिक संकटमा परिरहेको बेला कर्मचारीहरुले नै लाखांै रुपैयाँ खर्चेर प्रतिनिधिको रुपमा जाने भएपछि त्यसले कस्तो किसिमको प्रभाव पर्ला भन्ने विषयमा पनि सञ्चालक समिति भित्र आवाज उठ्ने गरेको छ ।