काठमाडौं । संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आमहड्ताल गर्ने घोषणा गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो ।
आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा आमहड्ताल घोषणा गरिएको हो ।
सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति बल मिच्याइ र निरंकुशतन्त्रको पराकाष्टा भएको बताएका थिए ।
आमहड्ताल गर्नु आफूहरुको बाध्यता भन्दै संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
हड्तालका क्रममा अत्यावश्यक सेव, परीक्षामा अवरोध नगर्ने संघर्ष समितिले जनाएको छ । परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर सवारी साधन ल्याउन पाउने संघर्ष समितिले स्पष्ट पारेको छ ।
यसैबीच, गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै संविधान र प्रचलित कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।
शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी गरे कारबाही गर्ने मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ ।
मन्त्रालयले उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्वाध आफ्नो काम पूर्ववत सञ्चालन गर्न आग्रह गरेको छ ।