काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाएका विदेशीहरुलाई नेपालमा आउन खुला गर्ने भएको छ । नेपाल आउने विदेशी पर्यटकहरुले ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने र ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम रहेका बेला कोरोना विरुद्धको खोप लगाएकाहरुलाई भने सहज रुपमा आउन पाउने निर्णय गर्न लागिएको हो ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले खोप लगाएका विदेशीहरुलाई सहज रुपमा नेपाल आउन दिने विषयमा मन्त्रिपरिषदबाट निर्णय गराउन प्रस्ताव पठाउने तयारी भइरहेको बताए ।
पछिल्लो समय विदेशमा कोरोना भाइरस विरुद्धको खोप धमाधम लगाइरहेको बेला नेपालले त्यस्ता विदेशीहरुलाई सहज रुपमै आउन दिने निर्णय गराउन लागेको हो ।
नेपाल आउन विदेशी पर्यटकहरु इच्छुक रहँदा रहँदै पनि प्रोटोकलकै कारण समस्या भएको गुनासो पर्यटन व्यवसायीहरुले गरिरहेको बेला मन्त्रालयले खोप लगाएकाहरुलाई यहाँ आउन खुला गर्न लागेको मन्त्री ढकालले जानकारी दिए ।
यसबाट नेपालमा पर्यटकहरुको आगमनमा वृद्धि हुनुको साथै अन्तर्राष्ट्रिय रुपमा पर्यटन क्षेत्रको प्रचारसमेत हुने विश्वास लिएको उनले बताए ।
अमेरिका, युरोपेली मुलुकसहित चीन र भारतमा समेत कोरोनाको खोप धमाधम लगाउन सुरु गरिएकोले त्यस मुलुकका पर्यटकहरुलाई लक्षित गरी मन्त्रालयले यस्तो निर्णय गराउन लागेको बताइएको छ ।
त्यसका लागि अनराइभल भिसालाई सहजिकरण गराउन समेत लागि परेको छ । सहज रुपमा नेपालमा पर्यटकहरु आउन पाएमा पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा व्यवसायीहरुले लिएका छन् ।