काठमाडौं । नयाँ प्रसारणलाइन बनाउन विकास साझेदार एसियाली विकास बैङ्क (एडीबी) ले नेपाल विद्युत् प्राधिकरणलाई २४ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।
धमाधम जलविद्युत् आयोजनाको निर्माण भइरहेको र उत्पादन हुने बिजुली खपत केन्द्रसम्म पु¥याउन प्रसारण लाइन नहुँदा बिजुली खेर जाने अवस्था आएपछि एडीबीले अनुदान र ऋण गरी सो रकम सहयोग गर्न लागेको हो ।
नयाँ ठूला तथा साना प्रसारणलाइन बनाउन एडीबीले थप २४ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल विद्युत् प्राधिकरण प्रसारण लाइन आयोजना निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक मनोज सिलवालले क्यापिटल नेपाललाई बताए ।
उनका अनुुसार एडीबीको ऋण तथा अनुदानमा हाल ६५ अर्ब रुपैयाँका विभिन्न १२ विद्युत् प्रसारण र वितरण परियोजना सञ्चालनमा छन् । उत्पादनतर्फ नेपाल विद्युत् प्राधिकरणअन्र्तगत निर्माण भइरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्् आयोजनामा एडीबीकै लगानी छ । उक्त आयोजनामा उसको १५ अर्ब रुपैयाँ ऋण लगानी छ ।
त्यसबाहेक सानो लगानीका बैकल्पिक ऊर्जा परियोजनाका आयोजनामा पनि एडीबीकै लगानी छ । अधिकांश प्रसारण र वितरण लाइन आयोजनामा एडीबीको ऋण र अनुदान सहयोग छ ।
थप २४ अर्ब ऋण सहयोगको प्रतिवद्धता सन् २०१९ को अन्तिमसम्म आइपुग्ने सिलवालले बताए । उनले प्रतिबद्धताअनुसारका निर्माण गर्ने गरी पाइपलाइन आयोजना तयार भएको बताए ।
पहिलो चरणमा काठमाडौँ उपत्यका क्षेत्रका ५ ओटा स्थानको वितरण प्रणालीलाई भूमिगत (अन्डर ग्राउन्ड) गरिनेछ । खासगरी, बानेश्वर, कीर्तिपुर, बालाजु, कुलेश्वर, जोरपाटी क्षेत्रको वितरण केन्द्रसम्म बिजुलीका तार अन्डर ग्राउन्ड गरिनेछ ।
दोस्रो चरणमा भक्तपुरदेखि ठिमीसम्म १३२ केभी प्रसारण लाइन अन्डरग्राउन्ड र ठिमीमा ९० केभी क्षमताको सवस्टेशन बनाउने योजना छ । लप्सीफेदी—बाह्रबीसे खण्डमा ४०० केभी क्षमताको सवस्टेशन निर्माण तथा ललितपुर र भरतपुरको सवस्टेशन निर्माण एवं स्तरोन्नति गर्ने गरी योजना तयार पारिएको सिलवालले बताए ।