काठमाडौं । धरहरा निर्माण कार्य थालेकोे २ वर्षभित्र सक्नुपर्ने भए पनि ९ महिना बितिसक्दा बेसमेन्ट र साइड क्लियरेन्सको काम मात्रै सकिएको छ ।
२०७५ असोज १९ गते दुई वर्षभित्र सक्नेगरी रमन कन्स्ट्रक्सनसँग सरकारले सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७७ असोज १९ गते धरहरा बनिसक्नुपर्ने छ । तर, ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेकाले तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको हो ।
रमन कन्स्ट्रक्सनका धरहरा पुनर्निर्माण आयोजना प्रमुख श्यामचन्द्र श्रेष्ठले निर्माणस्थलका लागि जग्गा प्राप्ति, बाटो, बिजुलीको पोल, खानेपानीको पाइपलाइनलगायत ‘साइट क्लियरेन्स’ गर्नुपर्दा धरहरा निर्माणमा ढिलाइ भएको स्वीकार गरे ।
उनका अनुसार हालसम्म धरहराको १९ प्रतिशत मात्रै काम सकिएको छ । ठेकेदारको लापरवाहीका कारण धरहरा निर्माणले द्रूत गति लिन नसकेको हो ।
ठेकेदार कम्पनी सामान्यभन्दा सामान्य काममा अल्झिएकाले निर्माणमा ढिलाइ भएको हो । पाइपलाइनको व्यवस्थापन, ‘राप्ट्र’ पाइप र २८ घनमिटरको राप्ट्र बनाई कोलम र डन्डी तथा स्ल्यापको काम सकिएको धरहरा पुनर्निर्माण आयोजना प्रमुख श्रेष्ठले बताए ।
६ महिनाभित्र कम्पनीले अपरबेसमेन्ट, स्ल्याप र अन्डरग्राउन्ड पार्किङ निर्माणको काम सम्पन्न गरेको श्रेष्ठले जानकारी दिए । बिजुली, खानेपानी पाइप र ढलको व्यवस्थापन गर्नुपर्दा केही समस्याका कारण पुनर्निर्माणमा केही ढिला हुन गएको उनको भनाइ छ ।
धरहरा पुनर्निर्माणमा अहिलेसम्म प्राधिकरणबाट ४९ करोड रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी भइसकेको छ । धरहरा बनाउन रमन कन्ट्रक्सनसँग ३ अर्ब ४५ करोड रुपैंयाको ठेक्का सम्झौता प्राधिकरणले गरेको थियो ।
जग्गा नपाउँदा काममा ढिलाइ
अहिले प्राधिकरणले दुई ओटा बेसमेन्ट बनाउने सम्झौता भएको छ । तर, निर्माणस्थलको सम्पूर्ण जग्गा नपाउँदा काम गर्न ढिलाइ भएको छ । जग्गा पाएको भए जनशक्ति र समयमै काम अघि बढ्ने श्रेष्ठको भनाइ छ । ‘जग्गा नपाउँदा अर्को समस्या भोग्नुपर्यो, जसले हामीलाई काम गर्न सहज वातावरण भएन,’ उनले भने, ‘पर्याप्त जनशक्ति हुँदा पनि समयमै काम गर्न सक्ने अवस्था भएन । तर, पनि काम रोकिएको भने छैन ।’
उनले दुई वर्षमा धरहराको टावर मात्रै अड्याउन सक्नेगरी अघि बढेको बताए । धरहरा जर्मन प्रविधिमा बनाइनेछ ।