काठमाडौं । अनलाइनमार्फत विदेशी सामान वा सेवा खरिद गर्न मिल्ने गरी डलरमा भुक्तानी गर्न सक्ने व्यवस्था एक महिनाभित्रै सुरु हुने भएको छ ।
एक जनाले प्रत्येक वर्ष अधिकतम ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्थाका लागि पहल भइरहेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्था विभागका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए । वाणिज्य बैंकहरुको प्रिपेड डलर कार्ड लिएर सो कार्ड अनलाइन किनमेलका लागि विदेशी वेबसाइटमा प्रयोग गर्न सकिने छ ।
यो व्यवस्था लागु भएपछि नेपालबाट नेटफ्लीक्स वा अमेजन र प्राइमजस्ता सेवा लिन, अनलाइन गेमहरूमा खर्च गर्न वा अनलाइन किनमेल गर्न वा फेसबुकमा विज्ञापन गर्ने वा मोबाइल एप किन्ने जस्ता सुविधा लिन सकिने छ ।
राष्ट्र बैंकका अनुसार यस विषयमा आन्तरिक रूपमा सुझाव लिने कार्य सम्पन्न भइसकेको छ । त्यसमा प्राप्त भएका सुझावहरू समावेश गरेर सर्कुलर जारी गर्नेछ । राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरेपछि सर्कुलर जारी हुनेछ ।
‘नेपाली मुद्रामा खाता हुने नेपालीहरूले पनि बढीमा ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्था मिलाउने प्रयास गरिरहेका छौँ’, राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले भने ।
हाल वाणिज्य बैंकहरूमार्फत विदेशी वस्तु भुक्तानी तथा सेवाका लागि ३ हजार डलरसम्म भुक्तानी गर्न सकिने, केन्द्रीय बैंकको स्वीकृतिमा १० हजार डलरसम्मको भुक्तानी दिन सक्ने र १० हजार डलर भुक्तानी गर्नुपर्ने भए सम्बन्धित पक्ष सिधै राष्ट्र बैंकमा पुगेर स्वीकृति लिने र रकम तिर्न सक्ने व्यवस्था छ ।
उनका अनुसार नेपालमा होटेल र विप्रेषणसम्बन्धी सेवा दिइरहेका कम्पनी लगायत अन्य विभिन्न क्षेत्र गरी करिब ३ हजार ५०० संस्थाहरूले विदेशी मुद्रामा कारोबार गर्नका लागि राष्ट्र बैंकसँग अनुमति लिएका छन ।
नयाँ व्यवस्था लागु भएपछि सर्वसाधारणहरूले अनलाइन माध्यमबाटै वा प्रिपेड कार्डमार्फत भुक्तानी गर्न पाउने भएका छन । उनका अनुसार त्यसका लागि छुट्टै प्रिपेड कार्ड लिनुपर्ने हुन्छ ।
उनले भने ‘एक नेपाली नागरिकको आम्दानी नेपाली रुपैयाँमा हुन्छ भने पनि उसले अमेरिकी डलर प्रिपेड कार्ड प्रयोग गरेको छ भने वर्षभरिमा ५०० डलर ननाघ्ने गरी भुक्तानी गर्न सक्ने हुनेछ ।’
पछिल्लो समयमा अन्तर्राष्ट्रिय रोजगारी बजारमा आउटसोर्सिङ गर्ने प्रचलन बढ्दै गएको र संसारको एउटा कुनामा बसेर अर्को कुनामा सेवा दिन सक्ने प्रविधिको विकास भएको अवस्थामा केन्द्रीय बैंक भुक्तानी सहज पारिदिने मनस्थितिमा पुगेको हो ।
त्यस्तै सामाजिक सञ्जालका विज्ञापनजस्ता गतिविधिहरूका भुक्तानीका कुराहरूका लागि समेत सहजीकरण गर्न सकिने केन्द्रीय बैंकको बुझाइ छ ।
फेसबुक जस्ता विभिन्न माध्यमहरूमा नेपालबाट विज्ञापन भइरहेको तर त्यसको हिसाबकिताब भने नदेखिने अवस्थाको अन्त्य गर्नका लागि पनि सीमा तोकेर कारोबार गर्न दिन लागेको छ ।
पोखरेलका अनुसार नेपालसँग हाल विदेशी मुद्रा सञ्चित पर्याप्त मात्रामा छ । एक व्यक्तिलाई ५०० डलरसम्मको भुक्तानी गर्ने सुविधा दिँदा खर्च मात्रै नभई आम्दानी हुन्छ भन्ने आशा समेत गर्न सकिने उनी बताउँछन ।