काठमाडौं । एनएमबी बैंकले काठमाडौं बल्खुस्थित तरकारी बजारमा क्यूआर कोड सेवा शुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १ धार्नी प्याज खरिद गर्दै सो सेवाको शुभारम्भ गरेका हुन् । क्यूआर कोड सेवा शुभारम्भ भएसँगै अब ग्राहकले डिजिटल भुक्तानीमार्फत नै तरकारी खरिद गर्न सक्ने छन् ।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी, बैंकका सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान, बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेत लगायतको उपस्थिति थियो ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले विद्युतीय भुक्तानीमार्फत ‘क्यास लेस’ समाजको स्थापना गर्न आवश्यक रहेको र त्यसमा सबैजना जुट्नुपर्ने बताए । विद्युतीय भुक्तानी भनेको हातमा नगद बोकिराख्नु पर्ने झण्झट अन्त गर्ने हो, फिर्ता दिनेलाई पनि चकलेट फिर्ता दिनुपर्ने अवस्था रहँदैन ।
आफ्नो बैंक खातामा मोबाइल क्लिक गरेको भरमा पैसा जम्मा गर्न सकिन्छ । कोरोना महामारीको त्रासको बीचमा पैसा लिने र दिनलाई ढुक्क हुने भएकाले क्यूआर कोड आवश्यक रहेकोमा गभर्नर अधिकारीले जोड दिए । यस्तै, बैंकका सीईओ केसीले डिजिटल नेपाल निर्माणमा बैंकले सधैं सहयोगी भूमिका खेल्ने बताए ।

‘आर्थिक क्रियाकलापलाई डिजिटल्ली भुक्तानीका लागि एनएमबीले ठूलो लगानी गरेको छ । फेसबुक, भाइबरबाटै बैंक एकाउन्ट खोल्न सकिने व्यवस्था कोरोना महामारीसँगै सुरुवात गरेको छौं । बिनाधितो सहुलियतपूर्ण कर्जा प्रदान गरिरहेका छौं ।

अब मोबाइलबाटै ऋण दिन मिल्ने व्यवस्था मिलाउन एनएमबी लागिरहेको छ । अब बैंकसम्म जानुपर्ने समय तपाइहरुले आफ्नो व्यवसायमा लगाउँदा हुन्छ’, सीईओ केसीले भने ।
बल्खु तरकारी बजारका सञ्चालक बस्नेतले डिजिटल सेवाको सुरुवातसँगै देश नयाँ आयामतर्फ गएको बताए । उनले विदेशमा जाँदा देखिने डिजिटल भुक्तानी सेवा अब स्वदेशमा नै आइसकेकाले देशले नयाँ कोल्टे फेरेकोमा जोड दिए । ‘डिजिटल भुक्तानीले अव्यवस्थित बजार नियन्त्रणमा सहयोगी हुनेछ’, बल्खु तरकारी बजारका सञ्चालक बस्नेतले भने ।