काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृषिमा प्रविधि मात्र भित्र्याउन खोजिएको बताएका छन् । नेपाल इँटा उद्योग महासंघको १२औं साधारणसभालाई चितवनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कृषिमा लगानी नल्याइने स्पष्ट पारेका छन् । कृषिमा विदेशी लगानी भित्र्याउन खोजिएको भन्दै उद्योगीहरुले विरोध गरिरहेका बेला मन्त्री भट्टको यस्तो भनाई आएको हो ।
उनले बुझाइमा कमजोरी भएका कारण अनावश्यक कुरा बाहिर आएको दावी गरे । उनले भने, “कृषिमा प्रविधि भित्र्याउन खोजिएको हो विदेशी लगानी ल्याउन होइन ।” कृषिमा प्रविधि भित्र्याएर कम लागतमा उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।
उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय अध्ययन समितिले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने गरी प्रतिवेदन विभागीय मन्त्रालयलाई डेढ महिनाअघि बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेर विदेशी लगानी खुला गरेको हो ।
मन्त्रालयको सिफारिसमा ऐन संशोधन गर्दै शर्तसहित कृषिमा विदेशी लगानी खुलाइएको छ । जहाँ संशोधन ऐनको दफा ५० को अनुसूचीको क्रमसंख्या १ मा हेरफेर गरिएको हो ।
जुन राजपत्रमा सूचना प्रकाशित गरी भनिएको छ, ‘आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निकासी गर्न पशुपन्छीपालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योग बाहेकका सो क्षेत्रमा अन्य उद्योग वा व्यवसाय’ राखिएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको उक्त ऐनमा कृषिक्षेत्रमा विदेशी लगानी खुला गर्ने गरी संशोधन भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २० गते नेपाल राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा औद्योगिक व्यवसाय ऐन, २०७५ अन्तर्गत ५० करोड रुपैयाँभन्दा ठूला उद्योगमा विदेशी लगानी भित्र्याउन पाउने व्यवस्था छ ।