काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले सातै प्रदेशका १४ सहरमा आफ्नो डाटा सेन्टर स्थापना गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत वर्ल्डलिंकले ३ वर्ष भित्रमा ३ अर्ब लगानी गरेर डाटा सेन्टर स्थापना गर्ने जनाएको हो । सरकारको डिजिटल नेपाल निर्माणमा दूरसञ्चार पूर्वाधारका तर्फबाट वर्ल्डलिंक सहयोगी हुने कार्यक्रममा बताइयो ।
नेपालमा हाल विश्वासिलो अन्तर्राष्ट्रिय मान्यता पाएको डेटासेन्टर आवश्यक रहेको कम्पनीले जनाएको छ । वर्ल्डलिंक कम्युनिकेसन्सका सीईओ केशव नेपालका अनुसार नेपालको इन्टरनेट आगामी १० वर्षमा कस्तो अवस्थामा रहन्छ भन्ने कुरा डेटा सेन्टरसँग सम्बधित छ ।
स्थापना हुन लागेको डाटा सेन्टरमध्ये काठमाडौंको सबैभन्दा ठूलो हुनेछ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन र टियर ३ प्रमाणीकरण सहितको हुनेछ ।
यस्तै, अरु डेटा सेन्टरहरु मध्यम र सानो आकारको टियर २ मान्यता प्राप्त हुनेछन् । डेटा सेन्टरको स्थापनासँगै ग्राहकहरुले सस्तो, छिटो सेवा पाउने धारण कम्पनीले व्यक्त गरेको छ ।
डेटा सेन्टर स्थापना गर्नु अघि नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गर्न आवश्यक हुन्छ । साथै, विदेशी कम्पनीहरुको सहकार्यमा मात्रै नेपालमा डाटा सेन्टर स्थापना गर्न सम्भव रहेको कार्यक्रममा बताइयो । डाटा सेन्टरको ग्राहकको रुपमा सरकारी संस्था, बैंक तथा कम्पनीहरु रहने वर्ल्डलिंकले जनाएको छ ।
अहिले अन्तर्राष्ट्रिय व्याण्डविथ चुनौती बन्दै गएको छ । विगतका दिनमा व्याण्डविथ शतप्रतिशत्र बाहिरबाट मात्रै आउने भए पनि अहिले २५ प्रतिशत व्याण्डविथ बाहिरबाट ल्याउनुपर्छ । कन्टेन डेलिभरी नेटवर्क (सीडीएन) लोकल आउँदै गर्दा व्याण्डविथ कम हुँदै जान्छ ।
एमेजोन, गुगल, माइक्रो सफ्ट जस्ता कम्पनीहरु जसरी काम गर्न नसके पनि सकेसम्म राम्रोसँग काम गर्ने वर्ल्डलिंकले जनाएको छ । आगामी दिनमा १० प्रतिशत व्याण्डविथ विदेशबाट ल्याए पनि ९० प्रतिशत आफैं सक्षम हुने किसिमका योजना आवश्यक रहेको ववर्ल्डलिंक बताउँछ ।
सरकारी तथा निजी क्षेत्रको डाटा सेन्टर स्थापनाले ग्राहकको आवश्यकता पूरा गर्न थप सहज हुने कम्पनीको अनुमान छ । अहिले वर्ल्डलिंकको डाटा सेन्टर अघोषित रुपमा ३ सय ५० स्थानमा छन् । तर, एकै ठाउँमा सर्टिफाइड डाटा सेन्टर राख्दा त्यसको छुट्टै महत्व हुन्छ । अहिले डाटा सेन्टर कम्पनीको आफ्नै प्रयोजनका लागि समेत आवश्यक बनिसकेको छ ।