काठमाडौं । सरकारले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहित गर्ने नीति लिँदै आएको छ । विभिन्न क्षेत्रमा विद्युतीय भुक्तानी गर्दा छुट तथा सहुलियत प्रदान गर्ने नीति लिए पनि नेपाल विद्युत प्राधिकरणले अनलाइनमार्फत बिजुलीको महसुल तिर्दा आमग्राहकलाई थप व्ययभार पर्ने सर्भिस चार्ज लगाउने तयारी गरेको छ ।
हालै बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल ५ सय रुपैयाँभन्दा बढी उठ्ने ग्राहकले अनलाइनमार्फत भुक्तानी गर्दा सर्भिस चार्ज ५ रुपैयाँ लगाउने निर्णय गरेको छ । यसअघि अनलाइनमार्फत बिजुलीको भुक्तानी सेवा निःशुल्क दिँदै आए पनि प्राधिकरणले वालेट जस्ता सेवा प्रदायकको दबाबमा परेर सर्भिस चार्ज लगाउने निर्णय गरेको छ ।
आमग्राहकले अनलाइनमार्फत तिर्ने बिजुलीको महसुल प्राधिकरणलाई जान्छ । तर, सर्भिस चार्जबापत लाग्ने शुल्क वालेट लगायतका सेवा प्रदायकलाई जान्छ । प्राधिकरणले अनलाइनमार्फत बिजुलीको महसुल तिर्न ग्राहकलाई प्रोत्साहित गर्ने वा छुट दिनुपर्नेमा उल्टै वालेटलाई पोस्न सर्भिस चार्ज लगाउन खोजेको देखिन्छ।
बिजुलीको महसुल ५ सय रुपैयाँभन्दा कम उठ्ने ग्राहकले अनलाइनमार्फत तिर्दा सर्भिस चार्ज लाग्दैन । ५ रुपैयाँ सर्भिस चार्ज रकमले सानो होला । तर, डिजिटल भुक्तानीमा जोड दिएको सरकारले अनलाइनमार्फत बिजुलीको महसुल तिर्दा पनि थप चार्ज लगाउनु गलत हो ।
यद्यपी, प्राधिकरणको सञ्चालक समितिको बैठकले सर्भिस चार्ज लगाउने निर्णय गरे पनि प्राधिकरणले अहिलेसम्म ‘माइन्युट’ गरिसकेको छैन । प्राधिकरण स्रोतका अनुसार, अहिले झन्डै ८ लाख बढी ग्राहकले घरमै बसेर वालेटमार्फत बिजुलीको महसुल तिर्दै आएका छन् ।
याे पनि पढ्नुहाेस, बिजुलीको बिल अनलाइनबाट तिर्नेको संख्या बढ्दो, मासिक १ अर्ब बढी संकलन
कोरोना महामारीका बेला त झन अनलाइनमार्फत बिजुलीको भुक्तानी गर्ने ग्राहक १२ प्रतिशतले बढेको प्राधिकरण स्रोत बताउँछ । विद्युतीय भुक्तानी गर्न प्रोत्साहन गर्नुपर्नेमा अतिरिक्त शुल्क लगाउने निर्णय न्यायोचित नभएको उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछन् ।
‘यो बेला त ‘डिजिटल नेपाल’ कार्यान्वयन गराउन उपभोक्तालाई प्रोत्साहित गर्नुपर्ने हो । तर, त्यस्तो नगरी बिजुलीको महसुल अनलाइनमार्फत तिर्छुभन्दा अतिरिक्त शुल्क लगाइदिँदा उपभोक्ता हतोत्साहित हुने अवस्था आउँछ’ उनले भने, ‘सम्बन्धित निकायले निर्णय गर्नुभन्दा पहिले सरोकारवालासँग राम्रोसँग छलफल र सरसल्लाह लिएर गर्नुपर्छ । त्यो गरियो भने दीर्घकालीन रुपमा प्रभावकारी हुन्छ ।’
उपभोक्ता स्वंयमले डिजिटल माध्यमबाट भुक्तानी गर्दा के आधारमा अतिरिक्त शुल्क लिने भन्ने कुरा प्रस्ट हुनुपर्ने उनको तर्क छ । प्राधिकरणले अनलाइनमार्फत बिजुलीको महसुल भुक्तानी गर्न तिर्न मिल्ने गरी तीन वर्षअघि ‘स्मार्ट बिलिङ सिस्टम’ सुरु गरेको थियो । कोरोना महामारीका बेला सबै मिटररिडरहरु ग्राहकको घरमा गएनन् । आम ग्राहकले पनि अनलाईनमार्फत नै बिजुलीको महसुल तिरे ।
याे पनि पढ्नुहाेस, बिजुलीको महसुल अनलाइनमार्फत तिर्दा ५ रुपैयाँ ‘सर्भिस चार्ज’
डिजिटलमाध्यमबाट बिजुलीको भुक्तानी गर्न मिल्ने गरी अहिले ग्राहकले आफ्नो मिटर उठेको विद्युत् खपत युनिट आफैंले जानकारी दिने गरी प्राधिकरणले ‘मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ । विद्युत् आय संकलन केन्द्रमा महसुल भुक्तानी गर्न जाँदा हुने भीड, लाइन र समय बचत गरी घरमै बसेर भुक्तानी अनलाइनमार्फत गर्न सकिन्छ । यसले आम ग्राहकलाई निकै सजिलो र समयको पनि बचत भएको छ । तर, थप सर्भिस चार्ज लगाउने प्राधिकरण सञ्चालक समितिको निर्णयले अनलाइनमार्फत बिजुलीको भुक्तानी गर्ने ग्राहकहरु निरुत्साहित हुने अवस्था छ ।
अहिले १० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई ‘इनर्जी शुल्क’ लाग्दैन । विद्युत् प्राधिकरणले झन्डै ११ अर्ब रुपैयाँ नाफा गरिरहेको छ । यस्तो अवस्थामा ग्राहकलाई बिजुली महसुल र भुक्तानी प्रणाली सहज गर्नुपर्नेमा उल्टै थप चार्ज लगाउने निर्णय उपयुक्त नहुने पूर्वऊर्जा सचिव सुमनप्रसाद शर्माको तर्क छ ।
‘ग्राहकले आफूले उपभोग गरेको बिजुली महशुल तिर्न सहज रुपले पाउनुपर्छ । बिजुली निशुल्क हुने बेलामा अतिरिक्त चार्ज लिनु हुँदैन’ उनले भने, ‘उल्टै छुट दिनुपर्नेमा, चार्ज लगाउने निर्णय व्यवहारीक देखिँदैन । किनकी, सोसाइटीलाई नै डिजिटल भुक्तानी गराउनुपर्नेमा उल्टै काउन्टरमा आए चार्ज लिन्न अनलाइनमार्फत तिर्दा चार्ज लिन्छु भने जस्तो भयो नि ।’
अहिले प्राधिकरणका देशभरका कुल १७२ विद्युत् आय संकलन केन्द्र छन् । ती केन्द्रमध्ये १६० भन्दा बढी केन्द्रका ग्राहकले विद्युतीय माध्यमबाट भुक्तानीको सुविधा लिएका छन् । विभिन्न ८ वटा सेवाप्रदायक संस्थासँग समन्वय गरी अनलाइनमार्फत विद्युत् महसुल तिर्न सकिन्छ ।
खासगरी, ई–सेवा, पे—पोइन्ट नेपाल, सिटी एक्सप्रेस, सीएफस रेमिट, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक र हिमाल बैंकको मोबाइल एप्स डाउनलोड गरी त्यसमार्फत बिजुलीको भुक्तानी गर्न सकिन्छ । यी एप्समार्फत बिहान ८ बजेदेखि राती ११ बजेसम्म बिजुलीको बिल तिर्न सकिन्छ ।