काठमाडौं । पछिल्लो एक वर्षमा भारतबाट मात्रै साढे ३२ अर्ब रुपैयाँको चामल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा धान÷चामल आयात गर्न उक्त रकम बिदेसिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा पछिल्लो आवमा ३ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको मन्त्रालयका तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए । ‘यस वर्ष ३२ अर्ब ३२ करोड रूपैयाँको धान÷चामल आयात भएको छ,’ उनले भने, ‘यो अघिल्लो वर्षभन्दा ३ अर्ब रुपैयाँभन्दा बढीको आयात हो ।’
यद्यपि नेपालबाट असङ्गठितरुपमा भारतमा धान र चामल निकासी भइरहेको छ । भारतमा कति निकासी हुन्छ, त्यसको तथ्याङ्क सरकारसँग छैन ।
आव २०७४/०७५ मा २९ अर्ब १० करोड रुपैयाँको चामल आयात भएको थियो । कृषिप्रधान देशमा हरेक वर्ष मुख्य खाद्यान्नका रुपमा रहेको धान अर्थात् चामल आयात बढेको बढ्यै छ । धानचामल आयातले पनि व्यापार घाटा बढाउन सघाएको छ । व्यापार घाटा अधिक भएपछि गत आर्थिक वर्षको ११ महिनामा शोधनान्तर घाटा ९१ अर्ब रुपैयाँ छ ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने भारतबाट चामल आयात घट्नुको सट्टा बढ्दै गएको छ । एकाध वर्ष केही घटे पनि अर्को वर्ष ठूलो अन्तरले आयात बढ्ने गरेको तथ्याङ्कले देखाउँछ ।
भन्सार विभागका अनुसार, आव २०७१/०७२ मा २५ अर्ब २४ करोड रुपैयाँको चामल आयात भएकोमा आव २०७२/०७३ मा केही आयात घटेको देखिन्छ । त्यस आवमा २४ अर्ब ८३ करोडको चामल आयात भएको थियो ।
२०७३/०७४ मा भने अघिल्लो आवको तुलनामा आयात केही घटेको छ । उक्त आवमा २३ अर्ब ८५ करोड रुपैयाँको चामल आयात भएको देखिन्छ । त्यसपछिका आवमा भने चामल आयात ह्वात्तै बढेर आव २०७४÷०७५ मा २९ अर्ब १० करोड रुपैयाँको भएको छ । जुन, एकै वर्षमा ५ अर्ब २५ करोडको आयात वृद्धि हो ।
किन बढेको बढ्यै छ आयात ?
स्वदेशमा धान उत्पादनमा आउने कमी, जनसङ्ख्या वृद्धि र खानेबानीमा आएको परिवर्तनका कारण पनि आयात बर्सेनी बढेको बढ्यै छ । यहाँको मागअनुसार स्वदेशमा धान उत्पादन हुन नसक्दा बर्सेनी भारतमा निर्भर हुनुपरेको सरकारी तथ्याङ्क छ । मन्त्रालयका अनुसार, गत वर्ष ५६ लाख १० हजार मेट्रिक टन धान फल्यो । झन्डै ५ लाख टन चामल अपुग रहेको मन्त्रालयले बताएको छ । तर, अपुगभन्दा बढी अर्बौंको चामल आयात भइरहेको छ । धान उत्पादन हुने जग्गा बाँझै रहनु र विदेशी रेमिट्यान्स भित्रिएपछि खेती गर्नुभन्दा किनेर खाने प्रवृत्ति बढ्दा पनि आयात बढेको छ ।
नयाँ पुस्तालाई बास्नादार बासमति चामलप्रति मोह छ । स्वदेशमा मोटो प्रकृतिको धानबाट मोटो चामल उत्पादन हुन्छ । जुन, अलिहेको पुस्तालाई मन पर्दैन । मसिनो र बास्नादार चामल भारतबाटै आयात हुनुपर्दा पनि अर्बौं रुपैयाँ देशले गुमाउन परेको छ । यता, हरेक वर्ष जनसङ्ख्या र खाने मुख बढ्दा पनि आयात गर्नुपर्ने स्थिति छ । खेती हुने जमिन बढ्नुको सट्टा घट्नु र बढ्दो जनसङ्ख्यालाई मागअनुसार उत्पादन नहुनु आयातको मुख्य कारक हो ।
गत वर्ष धान उत्पादन ९ प्रतिशतले बढेको दाबी गर्ने सरकारले बढेअनुसारको चामलको आयात अझै बढ्नु कृषिप्रधान देशका लागि दुर्भाग्य रहेको कृषिविज्ञ डा. कृष्ण पौडेलले बताए । स्वदेशी उत्पादन र आयातमा सरकारी तथ्याङ्क गलत भएको उनको भनाइ छ ।
‘अहिलेको पुस्ता काम गर्न मान्दैन । विदेशबाट पैसा आएपछि चामल र साग किनेर खान्छ । तर, आफूले उत्पादन गर्दैन’ उनले भने, ‘गाउँमा फलाएको चामलभन्दा दिल्लीबाट ट्रकमा आउने चामल सस्तो र मिठो लाग्छ ।’
विगत ५ वर्षअघि धान, गहुँ, मकै, फापरलगायतका खाद्यबालीमा औसत प्रतिव्यक्ति प्रतिवर्ष १९१ किलो खपत हुन्थ्यो । तर, अहिले चामलमात्रै न्यूनतम १३८ केजी प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक पर्ने तथ्याङ्क छ । यसबाट के प्रष्ट हुन्छ भने हामी आफूले उत्पादन नगर्ने र ढिँडो, फापर, मकै र आँटो पिठो छाडेर भातमै बल गरिहेका हुन्छौं ।
समाजमा प्रचलित शब्द ‘भाते कल्चर’ बढ्नु र रेमिट्यान्सकै पैसाले किनेर खाने चलनले आयात बढ्नुमा सहयोग पुगेको अर्का विज्ञ भोलामान सिंह बस्नेतको भनाइ छ । हरेक वर्ष बढ्दो आयातले सङ्कट आउन सक्ने भन्दै सरकारले एउटा उच्चस्तरीय राष्ट्रिय सुरक्षा मिसन कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
धान÷चामल उत्पादन वृद्धि र आत्मनिर्भरमुखी कार्यक्रम, नीति र योजना बनाउँदा सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता सरकारले सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले सम्बन्धित क्षेत्रको विज्ञबिना हचुवाका भरमा बनाइने योजना र कार्यक्रमले अहिले ठूलो प्रश्न खडा भएको बताए ।
मसिनो प्रकृतिको धान सिफारिसमा जोड
अहिलेको पुस्ताले रुचाउने मसिनो र बास्नादार चामल हो । जुन, नेपालमा उत्पादन हुँदैन् । भारतबाटै आयात गर्नुपर्छ । मसिनो धानको बीउ सिफारिस र उत्पादनमा सरकारले जोड दिनुपर्ने बस्नेतको भनाइ छ । सरकारले मोटो धान उत्पादन बढाउन जोड दिएको छ । अहिले नार्कले विभिन्न चैते धानको बीउ सिफारिस गरेको छ । आम किसानलाई मोटो प्रकृतिको धान बीउभन्दा मसिनो खालको बीउ सिफारिस गर्नु आवश्यक छ ।
अधिकांश चैते धानको बीउ मोटो प्रकृतिको छ । हालै नार्कले चैते - ५औं जातको धान सिफारिस गरेको छ, जुन मसिनो प्रकृतिको धानको बीउ हो ।