काठमाडौं । नेपाल वायुसेवा निगमले बोइङ ७५७–एसीबी जहाजको इन्जिन बिक्री गर्न लागेको छ । जहाजका लागि आवश्यक अतिरिक्त इन्जिनसहित पार्टपुर्जा र टुल्सहरू गरी १७ लाख अमेरिकी डलर करिब १८ करोड रुपैयाँमा बिक्रीका लागि टेण्डर आह्वान गर्ने निगमको सञ्चालक समितिले निर्णय गरेको छ ।
बोइङको इन्जिन हङकङमा फेरेर थप मर्मतका लागि ८ वर्ष अघिनै स्पेनको वार्सिलोनमा लगिएको थियो । हालसम्म त्यो इन्जिन नेपालमा ल्याइएको छैन । अहिले निगमले त्यहीबाट इन्जिन बिक्री गर्न लागेको हो ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले पहिलानै बेच्नुपर्ने इन्जिन अहिलेसम्म त्यतिकै थन्किएर बसेको हुनाले बिक्री गर्न लागिएको बताए । इन्जिनसहित पार्टपुर्जा र टुल्सहरू गरी १७ लाख अमेरिकी डलर मूल्यांकन गरी ग्लोबल टेण्डर गर्न लागिएको उनले बताए ।
निगमसँग हाल भएका जहाजलाई पनि त्यो इन्जिन काम नलाग्ने भएकाले त्यतिकै राख्नुभन्दा बिक्री गरेर केही आम्दानी हुने उनको भनाइ छ ।
सञ्चालक समितिका सदस्य अच्युतराज पहाडीले ७५७ जहाज बिक्री गर्दा नै एकैपटक सबै इन्जिन र पार्टपुर्जा नबेचेर यसअघिको व्यवस्थापनले ठूलो कमजोरी गरेको उनी बताउँछन् ।
त्यही बेला मूल्यांकन गरेर बिक्री गर्न पाएको भए राम्रो मूल्य आउन सक्थ्यो, सञ्चालक पहाडीले भने, अहिले त झन कोरोनाले सबै क्षेत्र ठप्प भएको हुँदा मूल्यांकन नै कम भएको छ । सधैं थन्काएर राख्नुभन्दा बिक्री गर्नुनै राम्रो विकल्प हुने सोच आफूहरूले राखेर यस्तो निर्णय गरिएको बताए ।
हाल ७५७ बोइङ जहाज बिक्रीका लागि सम्झौता भए पनि कोरोना भाइरसको कारण देखाउँदै खरिद गर्ने कम्पनी नेपालमा भने आइसकेको छैन ।
३२ वर्ष पुरानो जहाज विस्थापनसंगै निगमले पूर्णरूपमा एयरबस जहाज मात्रै उडान गर्ने जनाएको छ । सन् १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि जहाज बोइङ–७५७ एसीएर एसीबी सिरिजका दुईवटा जहाज खरिद गरेको थियो ।
१९० सिट क्षमताको बोइङ–७५७ मार्फत निगमले ३२ वर्षदेखि उडान गरिरहेको थियो । सन् १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ–७५७०) खरिद गरेको थियो ।
त्यसको २७ वर्षपछि दुइटा एयरबस–३२०–२०० सिरिजका जहाज खरिद गरेर हाल अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । निगमले हाल ४ वटा जहाजमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।