काठमाडौं । निजी कम्पनीहरुसंग प्रतिस्पर्धामा जान नेपाल टेलिकमले पाँचौं पुस्ता (फाइभजी) सेवालाई तीव्र गतिमा विस्तार गर्ने भएको छ । नयाँ प्रविधिमा ग्राहकको आकर्षण बढी हुने भएकाले फाइभजीको विस्तारलाई आक्रामक बनाएर लैजाने टेलिकमले तयारी थालेको हो ।
टेलिकमले पहिलो चरणमा विराटनगर, नेपालगन्ज, पोखरा र काठमाडौंमा फाइभजीको ‘पाइलट प्रोजेक्ट’ का रूपमा अघि बढाउन लागेको छ । ४ जिल्लामा पूर्णरूपमा सफल भएपछि यसलाई देशव्यापी रूपमा लैजाने तयारी टेलिकमको छ । टेलिकमको आम्दानी पनि घट्दै गएकाले बढाउन फाइजीलाई अघि बढाउन लागेको हो ।
फोरजी सेवा विस्तारमा सुस्तता आए पनि फाइभजी सेवालाई छिट्टै देशभर पुर्याउने गरी योजना बनाइरहेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । प्रवक्ता जोशीका अनुसार पहिले पाइलट प्रोजेक्ट रूपमा फाइभजी नेपालमा ल्याइने र त्यसपछि यसलाई क्रमिक रूपमा अघि बढाउने भएको छ ।
‘सबैभन्दा पहिला हामीले फाइभजीको परीक्षण गर्छौं, उक्त परीक्षणका आधारमा धेरैभन्दा धेरै ग्राहकहरू यसमा सहभागी हुने हामीले विश्वास गरेका छौं, विकसित देशमा समेत चर्चा कमाएका कारण नेपालमा फाइभजीको विस्तार आक्रामक हुन्छ,’, उनले क्यापिटल नेपालसँग भने ।
हाल टेलिकमको फोरजी सेवा देशव्यापी रूपमा नै सञ्चालनमा रहेको जनाएको छ । तर, सबै स्थानीय तहमा फोरजी चल्दैन । टेलिकमले २ वर्ष अघिबाट फोरजी सेवा सुरु गरिरहेको छ । फोरजी देशभरि नगएका कारण फाइभजी सेवा पनि सहरमा केन्द्रित हुने देखिएको छ ।
के हुन्छ फाइभजीमा ?
फाइभजीमा फोरजीको भन्दा डाटाको गति (स्पिड) बढी हुन्छ । तर, भ्वाइस कलमा फोरजी र फाइभजीमा फरक नहुने टेलिकमले बताएको छ ।
फोरजी सेवा पनि सबै मोबाइलका सेटहरूले बराबरी रूपमा सपोर्ट गर्छन् भन्ने छैन । यसको मतलब फोरजी हरेक किसिमको सेटमा नचल्न सक्छ । यस्तै, फाइभजी पनि सेटको गुणस्तर अनुसार चल्छ ।
अहिले नेपाली बजारमा रहेका विभिन्न प्रकारका मोबाइल सेटहरू सञ्चालनमा छन् । टेलिकमले साना फिचर सेटहरूमा फोरजीले सपोर्ट नगर्ने भए जस्तै फाइभजी पनि सबै सेटमा चल्न नसक्ने बताइएको छ । सेवा प्रयोगकर्ताले फाइभजी नेटवर्क लिन नयाँ मोबाइल सेट खरिद गर्नुपर्ने हुन्छ ।
यसरी सञ्चालन हुन्छ फाइभजी
टेलिकमले फाइभजी सञ्चालनमा ल्याउनुअघि सोही अनुसारको नेटर्वक सुविधा व्यवस्थापन गर्न आवश्यक हुन्छ । नेटवर्कमा चाहिने व्याण्डविथको प्रबन्ध पनि टेलिकमले गर्नुपर्छ ।
हाल सञ्चालनमा रहेको फोरजीको तुलनामा फाइभजी चलाउँदा ग्राहकलाई महँगो हुने टेलिकमले बताएको छ । तर, फाइभजी प्रविधिको पछिल्लो भर्सन भएकाले यसका प्रयोगकर्ता धेरै हुने टेलिकमले बताएको हो ।
यस्तो भन्छ नियामक निकाय
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले टेलिकमले फाइभजी सेवालाई पाइलट प्रोजेक्ट सञ्चालनका लागि माग गरे पनि स्वीकृति नपाएको बताए ।
‘फाइभजी सञ्चालन टेलिकमले प्राधिकरणसँग स्वीकृति मागेको थियो, त्यसका लागि हामीले टेलिकमलाई फ्रिक्वेन्सीको स्वीकृति दिनुपर्छ, कुन व्याण्डमा चलाउने हो ? फ्रिक्वेन्सी व्याण्ड कतिको राख्ने हो भन्ने कुराले निर्भर गर्ने अर्याल बताउँछन् ।
अहिलेसम्म टेलिकमलाई फाइभजी सञ्चालनका लागि प्राधिकरणले स्वीकृति दिएको छैन । यस्तो अवस्थामा टेलिकमले परीक्षण गर्न सक्दैन । रेडियो फ्रिक्वेन्सी समितिबाट स्वीकृति पाएपछि टेलिकमले फाइभजीको अनुमति पाउँछ ।
टेलिकमले आफू फाइभजीमा इच्छुक रहेको र पूर्वाधारसमेत तयार रहेको बताउँदै आएको छ । प्राधिकरणले भने फाइभजीसम्बन्धी निर्णय नभइसकेको बताएको छ । टेलिकमले फाइभजी सेवा सुरु गर्न तयार रहेको भन्दै २ वर्षअघि अनुमति मागेको थियो । प्राधिकरणले यस विषयमा निर्णय गरेको छैन ।