काठमाडौं । अहिले सेयर कारोबार साताको ५ दिन मात्रै हुन्छ । आइतबारदेखि बिहीबारसम्म ४ घन्टा कारोबार भए पनि लगानीकर्ताहरूले सेयर कारोबारको समय र दिन थप्नुपर्ने पक्षमा विस्तारै आवाज उठाउन थालेका छन् ।
कारोबार रकम दिनदिनै बढिरहेको र सेयर बजारप्रतिको चासोले उचाइ लिएकाले शुक्रबार पनि कारोबार खोल्नुपर्ने आवाज मुखरित हुन थालेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्राथमिक सेयर भर्नेहरूको घुइँचोले पनि लगानीकर्ताको आकर्षण सेयर बजारप्रति बढेको देखाउँछ । जसैजसै लगानीकर्ताको चाप बढ्दै जान्छ तब सेयर बजारले नयाँ गति समाउँदै जान्छ ।
कुनै बेला ‘म्यानुअल’ रुपमा हुने सेयर कारोबार र त्यसको राफसाफ हुन हप्तौं लाग्ने अवस्था पार भएर अहिले दुई दिनभित्रै राफसाफ गर्ने तहमा प्रवेश गरेको छ ।
सेयर प्रमाणपत्र बोकेर खरिद बिक्री गर्न हिँड्ने अवस्थाबाट सुधार भएर एक क्लिकमा सेयर खरिद बिक्री भइसक्ने र बैंक खातामा भनेकै दिन पैसा जम्मा हुने वातावरण बनिसकेको छ । प्रविधिको बढ्दो प्रयोगले सेयर बजारलाई नयाँ उचाइमा लगिरहेकाले कारोबार दिन र समय थपिनुपर्ने आवाज उठ्न थालेको हो ।
हुन त विश्वभरका सेयर बजार सातामा ५ दिन मात्रै खुल्ने हुन् । त्यस्तो अवस्थामा नेपाल छैटौं दिन किन भन्ने प्रश्न उब्जिन सक्छ । तर, विश्वभर सातामा २ दिन सार्वजनिक बिदा हुने भएकाले मात्रै ती दिन सेयर खरिद बिक्री नभएको हो ।
नेपालमा भने सातामा एक दिनमात्रै सार्वजनिक बिदा भएकाले शुक्रबार किन कारोबार नगर्ने ? शुक्रबार नियमित कार्यालयहरू खुल्ने भएकाले यसदिन पनि सेयर किनबेच हुने व्यवस्था आवश्यक देखिएको सरोकारवालाहरूको भनाइ छ ।
सेयर बजार कसरी चलायमान हुँदै गयो ?
नेपालमा ४४ वर्ष अघिदेखि विधिवत् रुपमा सेयर किनबेच सुरु भएको पाइन्छ । २०३३ सालमा सेयर खरिद बिक्री केन्द्र स्थापना गरेर त्यसैमार्फत सेयर बजारसम्बन्धी सम्पूर्ण काम सुरु भएको हो । त्यति बेला खरिद बिक्री केन्द्रले नै अहिले धितोपत्रबोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र दलाल व्यवसायी (ब्रोकर), मर्चेन्ट बैंकर सबैको काम गथ्र्यो ।
ती सम्पूर्ण काम एउटै कम्पनीले गर्दा पनि उसको व्यवसाय खासै विस्तारित थिएन । यद्यपि त्यसअघि पनि सेयर किनबेच हुने गरेको बताउने गरिन्छ । सन् १९९४ मा सरकार र निजी व्यक्तिहरू मिलेर नेपाल बैंक स्थापना भएको थियो ।
खरिद बिक्री केन्द्रमा खासगरी सरकारी ऋणपत्र किनबेच हुन्थ्यो । केन्द्रले सेयर किन्ने र बेच्ने दुवै काम गरे पनि धेरैलाई सेयर बजार भनेको जानकारीसम्म थिएन ।
कमलादीस्थित खरिद बिक्री केन्द्रमा २०४० सालतिर सेयर किन्नेले मलाई यो कम्पनीको यति सेयर चाहियो भनेपछि त्यहाँका कर्मचारीले खरिदकर्ताको सम्पूर्ण व्यक्तिगत विवरण टिपेर राख्ने र बिक्री गर्ने कोही मान्छे भने सम्पर्क गर्ने गरिन्थ्यो । अहिले भुटानमा करिब–करिब यस्तै किसिमको कारोबार चलिरहेको छ । त्यहाँ स्टक एक्सचेन्ज खुलिसकेको छैन ।
भुटानमा साताभरि ‘सेयर अर्डर’ संकलन गर्ने र संकलित अर्डरलाई सोमबार र बिहीबार ‘म्याच’ गरिदिने गरिन्छ । अर्थात् भुटानमा दुई दिनमात्रै ‘प्रि–ओपनिङ’ कारोबार हुन्छ ।
तर, नेपालमा भने आइतबारदेखि बिहीबारसम्म सार्वजनिक बिदाको दिनबाहेक सबै दिन बिहान ११ बजेअघि प्रि–ओपनिङ कारोबार र ११ बजेपछि ३ बजेसम्म पूर्ण कारोबार सुरु भइसकेको छ ।
कमलादीस्थित खरिद बिक्री केन्द्रमा २०४० सालतिर सेयर किन्नेले मलाई यो कम्पनीको यति सेयर चाहियो भनेपछि त्यहाँका कर्मचारीले खरिदकर्ताको सम्पूर्ण व्यक्तिगत विवरण टिपेर राख्ने र बिक्री गर्ने कोही मान्छे भने सम्पर्क गर्ने गरिन्थ्यो । अहिले भुटानमा करिब–करिब यस्तै किसिमको कारोबार चलिरहेको छ । त्यहाँ स्टक एक्सचेन्ज खुलिसकेको छैन ।
भुटानमा अहिले चलिरहेको ‘कल मार्केट’ भनेर पनि बुझिन्छ । यस्तो बजारमा सेयर किन्ने र बेच्ने सम्बन्धित मान्छे नै खरिद बिक्री स्थलमा भेला हुनुपर्छ । तर, अहिले नेपालसहित विश्वभर चलिरहेको बजारलाई निरन्तर बजार (कन्टिनियस मार्केट) भनिन्छ ।
निरन्तर बजारमा सधैंभरि व्यवसाय नहोला भनेर सीमित दिन मात्रै बजार खुलाइएको यस क्षेत्रका विज्ञहरू बताउँछन् । २०५० सालमा नेप्से खुलेसँगै नियामकका रुपमा नेपाल धितोपत्रबोर्ड, लगानीकर्तालाई कारोबार सहजीकरण गरिदिन ब्रोकर र सेयरको विवरण राखी दिन मर्चेन्ट बैंकरहरू छुट्टाछुट्टै रुपमा स्थापित भए । नेप्सेका सुरुका दिनहरूमा आइतबारदेखि बिहीबारसम्म २ घण्टा (१२–२) बजे सेयर खरिद बिक्रीका लागि समय निर्धारण गरिएको थियो ।
ब्रोकरहरू आफ्ना लगानीकर्ताको बिक्री र खरिदको सूची लिएर नेप्सेमै उपस्थित भएर कुन सेयर बेच्ने र कुन सेयर किन्ने घोक्रो सुक्ने गरी कराउँथे र त्यसको टिपोट नेप्सेका कर्मचारीले गर्थे । त्यसलाई ‘ओपन आउटक्राइ सिस्टम’ भनिन्छ ।
तर, पछिल्लो सयम सुधारिँदै गएर घरबाटै आफूले किने र बेच्ने सेयरको अर्डर आफंै राख्ने मात्र होइन राफसाफसमेत आफैं गर्न सकिन्छ । र, यो कारोबार समय बढेर दैनिक ४ घण्टा पुगेको छ ।
विगतको अप्ठ्यारो सेयर खरिद बिक्री अवस्थालाई ध्यानमा राखेर शुक्रबारलाई ऋणपत्रको कारोबार गर्ने, आइतबारदेखि बिहीबारसम्म किनबेच भएको सेयरको राफसाफ गर्ने, १० कित्ताभन्दा कम सेयर खरिद बिक्री मिलान गर्ने दिनका रुपमा छुट्याइएको थियो ।
सबै कागजी प्रक्रिया भएकाले राफसाफको चाप पनि अत्यधिक हुने भएकाले एकदिन छुट्याइएको हो । तर, अहिले फेरिएको परिस्थितिमा शुक्रबार सेयर कारोबार रोक्नुपर्ने कुनै कारण छैन ।
शुक्रबारको कारोबार नियमित गर्नुअघि बैंकहरू आधा समय मात्र खुल्छन् भनेर मिति पर सार्न सकिएला । तर, त्यो वास्तविक आधार होइन । शुक्रबार पनि बैंकहरूले ३ बजेसम्म वित्तीय सेवा दिइरहेकै हुन्छन् । राफसाफका लागि समय थप चाहिने हो भने बैंकहरू अन्य दिनहरूमा जस्तै कारोबार समय थप्न तयार छन् ।