काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ(वैरो)ले श्रम विभागका महानिर्देशक कुमार दाहाललाई आर्थिक प्रलोभनमा परेर निर्णयहरु गर्ने गरेको आरोप लगाएको छ ।
वैदेशिक रोजगारीसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभागका महानिर्देशक दाहालले आर्थिक प्रलोभनमा परेर पछिल्लो समय आफूखूसी निर्णय गरेको भन्दै आन्दोलनको तयारीसमेत गरेको छ । तर, विभागका महानिर्देशक दाहालले आफू आर्थिक प्रलोभनमा परेर मनपरी निर्णय गरेको भए प्रमाण ल्याउन संघका पदाधिकारीलाई चुनौती दिएका छन् ।
‘उनीहरुले भनेअनुरुप काम गरिन भन्दैमा आर्थिक प्रलोभनमा परेको भन्ने हुँदैन,’ दाहालले क्यापिटल नेपालसँग भने, ‘कुन निर्णय आर्थिक प्रलोभनमा परेर गरेँ, देखाउन व्यवसायीलाई आग्रह गर्छु ।’
संघका महासचिव सुजितकुमार श्रेष्ठले विभागसँग विगत एक वर्षदेखि विभिन्न विषयमा सुधारका लागि अनुरोध गर्दै आए पनि ती विषयहरुलाई लत्याएर मनोमानी ढंगले एकल निर्णय गर्न थालिएकाले आन्दोलनको तयारी गरिएको बताए ।
व्यवसायीलाई जानकारी र सम्पर्कनै नगरी धरौटीको रकम कट्टा गरेको, कामदारहरुले उजुरी हाल्ने बित्तिकै व्यवसायीसँग समन्वय नै नगरी कारोबार बन्द गरिदिने, कर्मचारीहरुको अनियमितता ह्वात्तै बढेको लगायतको आरोप दाहालमाथि व्यवसायीले लगाएका छन् ।
यस्तै विभागले छापामार्दा अनावश्यक भिडियोहरु बनाउने, व्यवसायीलाई ब्लाकमेलिङ गर्ने गरेको, ५० हजार रुपैयाँसम्म मागेको प्रमाण समेत आफूहरुसँग रहेको संघका महासचिव श्रेष्ठको दाबी छ ।
योसँगै विभागले आफू मातहतमा गर्नुपर्ने कामहरु समेत नगरेर मन्त्रालयमा पठाउने गरेको समेत आरोप उनलाई लागेको छ । व्यवसायको शाखा विस्तारको अनुमति लिनसमेत अहिले मन्त्रालयमा धाउनुपर्ने अवस्था आएको बताइएको छ ।
विभागको कार्यालय बुद्धनगर र ताहाचलका कर्मचारीहरुकाे अनियमितता धेरै बढेको बताइएको छ । त्यहाँका कर्मचारीहरुले अहिले प्रतिव्यक्तिको आधारमा व्यवसायीबाट रकम असुल्दै आएको समेत आरोप लगाएका छन् । यस विषयलाई लिएर महानिर्देशकसँग पटक-पटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेकोले आन्दोलनमा उत्रिन लागेको बताए ।
बिहीबार दिउँसो संघको कार्यसमितिको बैंठकमा आन्दोलनको एजेण्डाहरु तयार गरी चरणबद्ध आन्दोलनमा उत्रिने महासचिव श्रेष्ठको भनाई छ । महानिर्देशक नसच्चिएसम्म आफूहरु आन्दोलनमा रहनेसमेत बताएका छन् ।
यता विभागका महानिर्देशक दाहाल भने आफ्ना कर्मचारी र आफूमाथि लगाएको आरोप पुष्टि गर्न व्यवसायीलाई चुनौती दिए । विनाकारण धरौटी काटेको विषयमा कुनै प्रमाणहरु ल्याएमा आफू त्यसमा सच्याउन तयार रहेको बताउँदै अरुलाई आरोप मात्र लगाउनेभन्दा पनि आफूहरुले पनि कस्तो काम गरेको छु भन्ने विषयको मूल्यांकन गर्न आवश्यक रहेको उनको भनाइ छ ।