काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेड एउटैको १५ हजार भन्दा बढी कोरोना बिमाको दाबी भुक्तानी बाँकी रहेको छ । हालसम्म कुल २० हजार वटा दाबी भुक्तानी माग गरिएकोमा कम्पनीले करिब ५ हजारको मात्र भुक्तानी गरेको छ ।
कोरोना बिमाको दावी भुक्तानी नपाएको बिमा समितिमा उजुरी परिहेका बेला सरकार स्वामित्वको राष्ट्रिय बिमा कम्पनीले भने अझै ठुलो परिमाणमा भुक्तानी गर्न बाँकी रहेको पाइएको हो ।
निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोषलगायत सार्वजनिक संस्थानका सबै कर्मचारीहरुको कोरोना बिमा राष्ट्रिय बिमा कम्पनीमा गरिएको छ ।
यसमध्ये ९५ हजार सेना, ५४ हजार प्रहरीलाई कोरोना बिमालेख (पोलिसी) बिक्री भएको छ । यस्तै ९९ प्रतिशत निजामति कर्मचारीहरुको कोरोना बिमा कम्पनीमा गरिएको छ । राष्ट्रसेवक सबै कर्मचारीको कोरोना बिमा सरकारले गरिदिएको हो ।
कोरोना बिमाको प्रकृया लामो भएका कारण समयमा भुक्तानी गर्न नसकेको कम्पनीले जानकारी दिएको छ । बिमा कम्पनीले दाबी भुक्तानीमा ढिलाई हुनुमा केही विषेश कारण रहेको जानकारी दिएको छ ।
पहिलो कारण, बिमितलाई दाबी भुक्तानी दिन कम्पनी आफैले नै पर्खिनुपर्छ । अहिले कोरोना बिमाका लागि च्यानल धेरै भएकै कारण भुक्तानीको समय पछि धकेलिदै गएको छ । दोस्रो,सरकारले बिमा कम्पनीलाई उपलब्ध गराउनुपर्ने बिमा शुल्कमा ढिलाई हुनु हो । तेस्रो कारण बिमा कम्पनीले विगतका वर्षहरुको तुलनामा अत्यन्तै धेरै दाबी प्राप्त गरेका छन् । त्यसैले ढिलाइ हुन गएको कम्पनीको दावी छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. डिल्लीराज अर्यालले कोरोना बिमाको दावी भुक्तानीमा ढिलाइ भएको स्वीकार गरेका छन् । उनले प्रक्रियागत कारणले दावी भुक्तानीमा ढिलाइ हुन गएको बताए । क्यापिटल नेपालसंग कुरा गर्दै उनले १७ हजार बिमितका फाइल बिमा पुलमा पठाए पनि निकै कम सदर भएर आएका कारण दावी भुक्तानीमा ढिलाइ हुन गएको जानकारी दिए ।
‘अहिले दाबी भुक्तानी सोचे जस्तो तिव्र गतिमा गर्न सकिएको छैन । बिमा पुलमा पुगेका फाइलहरु नै रोकिएका छन्’ उनले भने ‘त्यसको व्यवस्थापन भएको छैन,हाम्रो तर्फका कामहरु गरिरहेका छौं ।’
‘पठाइएका फाइलहरु नै चेकजाँच गरेका पठाएका छौं, तर अरु कम्पनीको तुलनामा बिमा कम्पनीको दावीको संख्यानै ठूलो भएकोले पनि यस्तो भएको हो’ उनले भने । शंका लागेका पीसीआर रिर्पोटहरुमा मात्रै चेकजाँच गरेमा दाबी भुक्तानी छिटो हुने देखिने सीईओ अर्यालको भनाई छ ।
बिमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोरोना बिमाको ५१ हजार ७१७ फाइल सदर भएका छन् । उक्त फाइल सदर भएसँगै २ अर्ब ४६ करोड २७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी भइसकेको छ ।
कोरोना बिमाका २ हजार ७२१ फाइल भने प्रकृया नपुगेर फिर्ता भएका छन् । त्यस्तै, १८३ वटा दोहरिएका फाइलहरु भेटिएको समितिले जनाएको छ ।
यसरी हुन्छ दाबी भुक्तानीको प्रमाणिकरण
सबैभन्दा पहिले बिमितले बिमा कम्पनीमा दाबी गर्छन् । त्यसपछि कम्पनीले बिमितको कागजपत्र हेरेर भुक्तानी गर्ने होइन । बिमा कम्पनीले उक्त डकुमेन्ट कोरोना बिमाको पुलम्यानेजर शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा पठाउनु पर्छ । शिखरले कुनै पनि कम्पनीमा परेको कोरोना बिमाको चेकजाँच गर्छ ।
शिखरले आवश्यक कागजपत्र हेरेपछि मात्रै जानकारीका लागि बिमा समितिमा पठाउँछ । समितिमा पुगेपछि बिमतिले सिधै भुक्तानी पाउँदैनन् । समितिले ईडीसीडीमा पीसीआरको रेकर्ड राख्ने ग्रुपमा उक्त कागजातहरु पठाउनुपर्छ । यसरी ईडीसीडीले कागजात ठिक भएको प्रमाणिकरण गरेपछि शिखरले सम्बन्धित बिमा कम्पनीहरुलाई दाबी भुक्तानी गर्न योग्य रहेको सूचना पठाउनुपर्छ ।
यसरी शिखरले अन्तिममा कुनै पनि बिमा कम्पनीहरु दाबी भुक्तानी दिन योग्य रहेको पुष्टि नगरेसम्म कोरोना बिमाको पैसा बिमितले पाउदैनन् ।
एक हिसाबले पुलबाट काम गर्दा धेरै तिरबाट चेकजाँच हुने तथा अस्वस्थ क्रियाकलाप कम हुने देखिन्छ ।
तर बिमा कम्पनीले बिमितका आवश्यक कागजपत्र मात्रै चेकजाँच गरी प्रकृया छोट्याएमा दाबी भुक्तानीको अनुपात बढ्ने बताएको छ । हालसम्म पुल म्यानेजर शिखरले बिमा कम्पनीको ५ हजारमा मात्र दाबी भुक्तानी सदर गरेको छ ।