काठमाडौं । बन्दाबन्दी (लकडाउन) का बेला सम्पूर्ण व्यवसाय ठप्प हुँदा मोबाइलको व्यापारले अर्थतन्त्र चलायमान भएको थियो । सरकारले कोरोना भाइरस संक्रमणलाई रोक्न गरेको लकडाउनपछि सीमामा हुने मानिसको आवातजावातलाई रोकेसँगै मोबाइलको चाेरी पैठारी पनि रोकिएको थियो ।
अबैध रुपमा भित्रिने मोबाइल पूर्ण रुपमा रोकिएपछि नेपालको अर्थतन्त्रमा मोबाइलले ‘भाइब्रेन्ट नै क्रिएट’ गरेको थियो । एकातिर सरकारले सीमानाबाट हुने आवातजावात रोक्नु र मुलुकभित्र अनलाइन कक्षा सुरु हुनुले नेपालको मोबाइलको व्यापार चम्किएको थियो ।
अन्य सबै व्यवसाय ठप्प भएर आजित बनेका व्यापारीलाई मात्रै होइन्, राज्यलाई नै मोबाइलको व्यापारले थेगेको थियो । बैध रुपमा भित्रिने मोबाइलले राजस्वमा पारेको योगदानलाई उच्च कदर गर्दै अर्थ मन्त्रालयले सम्पूर्ण सीमा नाकामा बीओपी राख्ने निर्णय गरेको थियो । सोही अनुरुप बीओपी खडा भए पनि अहिले मोबाइल चोरी गरेर नेपाल भित्र्याउने गिरोह सक्रिय भएका छन् ।
केही दिनअघि मात्रै भैरहवाको सुनौली नाकाबाट २३ थान मोबाइल चोरी गरेर काठमाडौं ल्याउँदै गरेको अवस्थामा प्रहरीले थानकोटमा जफत गरेको थियो ।
सरकारले विभिन्न नाकामा खडा गरेको बिओपी, भन्सार छलेर मोबाइल तस्करी गर्नेक्रम बढ्न थालेको नेपाल मोबाइल इम्पोर्टस् एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले बताए ।
चैतदेखि मंसिरसम्म सीमानाबाट मोबाइल चोरी भएर भित्रिन सकेका थिएनन् । तर, पुस लागेसँगै चोरीका मोबाइल भित्रिन थालेको उनको भनाइ छ ।
राजस्व नउठेर गम्भीर संकटमा पर्न लागेको बेला सरकारले चोरी पैठारीलाई पूर्ण रुपमा रोकेको र त्यसको अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको व्यापारीहरुले बताएका छन् ।
व्यापारीले पटक-पटक सीमा नाकाबाट हुने चोरी पैठारीलाई रोक्ने बित्तिकै देशको अर्थतन्त्रमा ठूलो हलचल आउने बताउँदै आएका थिए । तर, सरकारले उनीहरुको कुरालाई गम्भीर रुपमा लिएको थिएन । लकडाउनपछि सरकारले व्यवसायीको कुरालाई गम्भीर रुपमा लिएको थियो ।
तर, अहिले भन्सारका अधिकारी, सिमानामा खटिएका प्रहरीको मिलेमतो (सेटिङ) मा चोरी भएर मोबाइल भित्रिन थालेको व्यवसायीहरुले बताएका छन् ।
अहिलेसम्म मोबाइल मात्रै भित्रिएको छ । अब खाद्यान्नका विभिन्न आइटम, जुत्ता, चप्पल, कपडालगायत धेरै वस्तु चोरी भएर भित्रिन्छन् ।
आईएमएस ग्रुपका अध्यक्षसमेत रहेका मल्होत्राले लकडाउन अघिसम्म ४० प्रतिशत मोबाइल चोरी भएर भित्रिने गरेको बताए ।
‘६० प्रतिशत मात्रै बैध बाटोबाट आउँथ्यो,’ उनले भने, ‘१० अर्बको मोबाइल भित्रिँदा ६ अर्बको बैध र ४ अर्ब रुपैयाँ बराबरको चोरीबाट आउने गरेको थियो । त्यो तथ्यांकलाई लकडाउन पुष्टि गरेको छ ।’