एजेन्सी । छिमेकी मुलुक भारतमा १० प्रतिशतसम्म भन्सारदर (इपोर्ट ट्याक्स) बढ्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी आत्मनिर्भर अभियान योजनाअनुसार आन्तरिक उत्पादनलाई प्रद्र्धन गर्न भारतले भन्सारदर बढाउन लागेको हो । भारतलाई आन्तरिक उत्पादनको गन्तव्यका रुपमा विकास गर्न र स्वदेशी उद्योगलाई प्रद्र्धन गर्न सरकारले भन्सारदर बढाउन लागेको बताइएको छ ।
वित्तमन्त्री निर्मला सीतारमनले फेब्रुअरी १ तारिखमा सन् २०२१ ०२२ को संघीय बजेट संसदमा पेश गर्दैछिन् । बजेटले विभिन्न ५० वटा आयात हुने वस्तुमा भन्सारदर बढाउन लागेको द इकोनोमिक्स टाइमले जनाएको छ । कोरोना महामारीले त्यहाँको अर्थतन्त्र ७.७ प्रतिशतले खुम्चिएका बेला सीतारमनले बजेट ल्याउने तयारी गरिरहेकी छिन ।
स्मार्टफोन र इलेक्ट्रिकलगायत ५० वटा वस्तुहरुमा कर बढाउने तयारी भएको छ । भन्सारदर बढाएर वित्तमन्त्री सीतारमनले २०० देखि २१० अर्ब भारु थप राजश्व संकलन गर्ने लक्ष्य लिएको बताइएको छ । राजश्व संकलन बढाएर कोरोना भाइरस महामारीबाट प्रभावित अर्थतन्त्रलाइ उठाउन यस्तो कदम चालिन लागेको इकोनोमिक्स टाइमले जनाएको छ ।
सरकारको यो नीतिबाट फर्निचर, इलेक्ट्रिक गाडी र अन्य विद्युतीय सामाग्री महंगो हुनेछ । यो नीतिबाट स्वीडिस फर्निचर कम्पनी इकेइया र इलेक्ट्रिक कार टेस्ला बढी प्रभावित हुने भएका छन् । टेस्लाले यो वर्ष भारतमा इलेक्ट्रिक कारको बिक्री वितरण थाल्ने बताएको छ । फर्निचर र इलेक्ट्रिक कारमा भन्सार दर बढाउने बताए पनि अझै निर्णय भइसकेको छैन ।
यी दुवै कम्पनीले भारतमा करको समस्या भोगेकाले भन्सारदर बढ्ने भएपछि थप चासो व्यक्त गरेका छन् । यस्तो वासिङमेशिन, रेफ्रिजेरेटर र अन्य विद्युतीय घरायसी उपकरणको पनि भन्सारदर बढ्ने अनुमान गरिएको टाइमले जनाएको छ । गत वर्ष पनि भारतले जुत्ता, फर्निचर, खेलौना इलेक्ट्रिोनिक र इलेक्ट्रिक वस्तुको भन्सारदर २० प्रतिशतसम्म बढाएको थियो ।