काठमाडौं । उखु किसानको दुई साता लामो आन्दोलन पश्चात चिनी उद्योगी र सरकारबीच भएको सम्झौताबमोजिम २१ दिनमा उद्योगीले झन्डै ४८ करोड रुपैयाँ बक्यौता भुक्तानी गरेका छन् ।
उखुको बक्यौता रहेका ४ वटा चिनी मिलबाट किसानले पाउनुपर्ने ६५ करोड ११ लाख रुपैयाँमध्ये हालसम्म(माघ ४) अर्थात सहमतिबमोजिम २१ दिनभित्र ४८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिलाएको गृह मन्त्रालयले जनाएको छ ।
चिनी मिल सञ्चालक र सरकारबीच भएको सहमतिबमोजिम २१ दिनभित्र ४८ करोड रुपैयाँ मात्र किसानलाई वितरण भएको मन्त्रालयका सुचना अधिकारी प्रेमलाल लामिछानेले क्यापिटल नेपाललाई जानकारी दिए ।
यो पनि हेर्नुहोस
उखु किसानलाई साढे ४३ करोड रुपैयाँ भुक्तानी, लुम्बिनी सुस्त, इन्दिरा सुगरको आलटाल
उनका अनुसार, श्रीराम सुगर मिलले ३५ करोड रुपैयाँमध्ये हालसम्म ३१ करोड ८१ लाख ६७ हजार रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको छ । सो मिलले सतप्रतिशत नै उखु किसानको भुक्तानी दिन तत्पर देखिएको लामिछानेले बताए ।
‘अहिलेसम्म श्रीरामले करिव सतप्रतिशत भुक्तानी दिने भएको छ । किनकी उसको बैंक खातामा रकम मौज्दात पनि छ’ उनले भने, ‘तर, किसानबाट पनि भुक्तानीको माग त्यति आएको छैन् । बाँकी भुक्तानीको माग आउँदा श्रीरामले भुक्तानी गर्छ ।’ श्रीरामले उखु किसानलाई ३ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
अन्नपूर्ण सुगर मिलले १७ करोड बक्यौतामध्ये हालसम्म ११ करोड ४७ लाख रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको छ । सो मिलले ५ करोड ५३ लाख रुपैयाँ भुक्तानी अझै बाँकी छ । अन्नपूर्णले कहिलेसम्म बाँकी रकम भुक्तानी गरिसक्ने बताएको छैन् ।
यता, लुम्बिनी सुगर मिलले पनि कुल बक्यौताको ५० प्रतिशतको हाराहारीमा किसानलाई वक्यौता भुक्तानी गरिसकेको छ । लुम्बिनीले ८ करोड ४१ लाख बक्यौतामध्ये हालसम्म ४ करोड १६ लाख रुपैयाँ किसानका खातामा जम्मा गरिसकेको लामिछानेले बताए । उक्त मिलले ४ करोड २५ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।
निर्धारित समय २१ दिनसम्म पनि इन्दिरा सुगर उखु किसानलाई वक्यौता भुक्तानी नै नगरेको लामिछानेले बताए ।‘डेढ करोड रुपैयाँ बैंक खातामा जम्मा गरेर बसेको छ । तर, इन्दिरा सुगर मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिन सुरु गरेको छैन’ उनले भने, ‘तुरुन्त वितरण गर्छु भनेको छ । तर, सुरु गरेको छैन ।’
सरकारसँग भएको सहमतिबमोजिम ४ वटा चिनी उद्योगले २१ औं दिनमा कुल बक्यौतामध्ये ७४ प्रतिशत मात्रै किसानलाई दिएका छन् । बाँकी १७ करोड रुपैयाँ बक्यौता भुक्तानी उद्योगीले कहिलेसम्म गर्ने हुन, त्यो टुंगो छैन ।
उखु किसान संघर्ष समितिले चिनी उद्योगबाट ९० करोड रुपैयाँ बक्यौता रहेको दाबी गरेको छ । तर, उद्योग मन्त्रालय गत पुस १३ गते ६५ करोड ११ लाख रुपैयाँ बक्यौता भुक्तानी बाँकी रहेको भन्दै २१ दिनभित्र तिर्न भन्दै चिनी उद्योगीसँग सहमति गरेको थियो ।
सहमतिबमोजिम उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई सम्वन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता हेरेर कारबाही प्रकृया अघि बढाउने प्रवक्ता लामिछानेले बताए ।
यता, सर्वोच्च अदालतले उखु किसानको बक्यौता एक महिनाभित्र भुक्तानी गर्नू भनेर अन्तरिम आदेश जारी गरिसकेको छ । गत २०७६ पुस दोस्रो साता पनि सर्लाही लगायतका जिल्लाबाट उखुको भुक्तानी उठाउन किसानले काठमाडौं आएर आन्दोलन गरेका थिए ।
त्यतिबेला सरकार, किसान र चिनी मिल सञ्चालकबीच भएको सहमति कार्यान्वयन नभएको र बक्यौता नपाएको भन्दै एक वर्षपछि उखुको भुक्तानी माग्न किसान काठमाडौंमा आएर आन्दोलन गरेका थिए ।