काठमाडौं । निर्माणधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाबाट आगामी चैतदेखि बिजुली उत्पादन हुने भएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने भएपछि प्रणालीमा बिजुली थपिन लागेको हो ।
हालसम्म करीब ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनाले सम्भव भएसम्म फागुन अन्तिमसम्म र यदि सम्भव नभए पनि चैत महिनासम्म सबै काम सम्पन्न गर्दै बिजुली बाल्ने तयारीमा रहेको आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनाले अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार यस आयोजनामा यतिबेला विद्युत् गृहको काम र सबस्टेशनमा जोड्ने काम मात्र बाँकी रहेको छ । गत असोज महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि कोभिडका प्रभावले गर्दा निर्माण कार्य तीव्ररुपमा अघि बढ्न नसक्दा बिजुली उत्पादन चैत महिनाबाट मात्र हुन लागेको आयोजनाले जनाएको छ ।
‘‘आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको थियो’’, वस्तीले भने, “केही काम प्राविधिकले गर्नु पर्ने थियो, प्राविधिकहरु भारतबाट ल्याउनुपर्ने र दुई÷चार दिनपछि फेरि अर्को प्राविधिक ल्याएर काम गर्नुपर्ने त्यहीमाथि १५ दिन क्वारेन्टिनमा राख्नुपर्ने स्थितिले गर्दा असोजमा आयोजनाको निर्माण सकिएन । अब भने निर्माण कार्यमा सहज भएको र निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन हुनेछ ।’’
यस आयोजना विसं २०७१ बाट निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो ।
सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि गत असोजसम्म म्याद थप गरिएकामा अझै निर्माण सम्पन्न नभएपछि आगामी चैत महिनासम्म जसरी पनि आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य रहेको प्रवद्र्धक वस्तीले बताए । आयोजना निर्माणका क्रममा ३ अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।
निर्माण अवधि लम्बिँदै जाँदा ४ अर्ब ६४ करोड रुपैयाँ गत असोज महिनासम्ममा खर्च हुने अनुमान गरिएकामा अझै समय थप हुँदा निर्माण कार्य सम्पन्न हुँदा अझै बढी रकम लाग्ने आयोजनाले जनाएको छ ।
आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
आयोजनाको बाँध स्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र २ हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत् गृहमा झारिने आयोजना प्रवद्र्धक वस्तीले बताए । उनका अनुसार यस आयोजनामा १२ दशमलव पाँचका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ ।
जिल्लामा यस आयोजनासहित दोर्दी करिडोरमा मात्र २३ अर्ब रुपैयाँभन्दा बढी लागतमा पाँचवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । ती अधिकांश आयोजनाले यस आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन् । त्यस्तै जिल्लाभरि एक दर्जन आयोजना निर्माणाधीन रहेका छन् भने केही आयोजना निर्माण हुने तयारीमा रहेका छन् ।
जिल्लामा यसअघि बेँसीशहर नगरपालिका–१ दलालमा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, मस्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु, २ मेगावाटको छ्याङ्दीलगायत आधा दर्जन आयोजनाले विद्युत् उत्पादन गरिसकेको छ ।