काठमाडौं । पुरानै शैलीमा बनाउने कि नयाँ शैलीमा बनाउने भन्ने विवादले रानीपोखरी र त्यहाँ रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य लामो समय अघि बढ्न सकेन् । ‘स्वीमिङ पुल’ स्वरुपको डिजाइनबाट रानीपोखरी पुनर्निर्माण हुन लागेको भन्दै महानगरवासीले विरोध गरे ।
रानीपोखरीको पुनर्निर्माणमा काठमाडौं महानगरबाटै बेवास्ता गरिएको भन्दै स्थानीय सम्पदाप्रेमीहरूले उपमेयर हरिप्रभा खड्कीलाई ‘घाँस’ उपहारसमेत दिए । त्यतिबेला उनले रानीपोखरी पुरानै शैलीमा बनाउने आश्वासन दिइन् । यसरी हेर्दा, कुन शैलीमा बनाउने भन्ने विवादले भूकम्प गएको दुई वर्षमा बनाइसक्ने गरी डिजाइन भएको रानीपोखरीको पुनर्निर्माण सम्पन्न हुन ५ वर्ष लाग्यो ।
त्यतिमात्र होइन्, ‘म बनाउँछु, मेरो धरहरा’ भन्ने अभियान स्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको सो सम्पदा पनि उस्तै विवाद दोहोरियो । गत २०७६ साउन २१ मा महानगरका केही अभियान्ताहरूले निर्माणाधीन धरहरा भीमसेन थापाले बनाएजस्तो ऐतिहासिक नभएको भन्दै विरोध गरे । त्यसअघि पनि उनीहरूले विरोध गर्दै आइरहेका थिए ।
उनीहरूले धराहरा पुनर्निर्माण नभई नवनिर्माण र झिल्के टावरको रूपमा संज्ञा दिएका थिए । किनने, भीमसेन थापाले निर्माण गरेको ११ तलाको धराहरा सन् १९९० को भूकम्पले भत्क्यायो । त्यसपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले ११ तलाको धरहरालाई ९ तलामा पुनर्निर्माण गरेका थिए ।
तर, अहिले बन्ने धरहरा पुरानै शैलीभन्दा भिन्न छ । अर्थात कंक्रिटयुक्त संरचना प्रयोग भएको छ । ९ तले धरहरा अहिले २२ तलेमा रूपान्तरण हुँदैछ ।
माथिका क्षतिग्रस्त संरचना पुनर्निर्माणमा मुख्य विवाद कुन डिजाइन र कस्तो शैलीमा बनाउने भन्ने नै हो । अहिले ती संरचना जस्तै विवादमा छ, कमलपोखरी पुनर्निर्माण । गत २०७६ असारबाट कमलपोखरीको पुनर्निर्माण सुरु भएको थियो ।
कमलपोखरीको जग्गा अतिक्रमण बढेको र प्राकृतिक सिमसार स्वरुप नै नष्ट हुने गरी कंक्रिटयुक्त सामग्री प्रयोग गरेको भन्दै तत्काल निर्माण रोक्न काठमाडौं क्षेत्र नम्बर ४ का सांसद तथा नेपाली कांग्रेस नेता गगनकुमार थापाले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेखे । त्यसपछि, कमलपोखरी बचाउ अभियानका अभियान्ता, सम्पदाप्रेमी तथा स्थानीयवासीहरूले शुक्रबार पोखरीको हिलोमाटो अनुहारमा दलेर बिरोध जनाए ।
उनीहरूले रानीपोखरी पुनर्निर्माणबाट पाठ नसिकेका, व्यापक सिमसार कमलपोखरीको अतिक्रमण भएको र पुरानै स्वरूपमा मासेर कंक्रिटयुक्त बनाउन लागिएपछि स्थानीय सम्पदाप्रेमी अभियन्ताहरूले सांकेतिक विरोध गरे ।
काठमाडौं महानगरले स्थानीय बासिन्दा तथा सरोकारवालासँग कुनै छलफल नगरी नयाँ स्वरूपमा पुनर्निर्माण अघि बढाउँदा कमलपोखरीको अस्तित्व मासिनेप्रति चिन्ता व्यक्त गरेका थिए ।
वास्तवमा भन्ने हो भने सिमसार क्षेत्र भएको कमलपोखरी बढ्दो सहरीकरणसँगै साँघुरिँदै गएको छ । प्रशस्त खुला सार्वजनिक क्षेत्र छैन । अझ अतिक्रमणसँगै आसपासमा फोहोर थुपारिँदा कमलपोखरी कुरुप बनेको छ ।
अहिले पुनर्निर्माण हुने कमलपोखरीमा वरपर व्यायाम क्षेत्र, ब्याडमिन्टन, बास्केटल खेल्ने स्थान बनाउने, पोखरीको बीचमा जाने पुल बनाउने, सिमेन्टको कमल बनाउने योजना छ । जसका कारण कमलपोखरीको पुरानो स्वरुप कतै हराउने त होइन् भन्ने चासो र चिन्ता छ ।
गत वर्ष ९ करोड ४६ लाख ९९ हजार रुपैयाँको ठेक्कामा कमलपोखरी पुनर्निर्माण अघि बढेको थियो । यसअघि स्थानीय बासिन्दालाई कमलपोखरीमा कसरी काम हुँदैछ भन्नेमा यकिन जानकारी भएन । कतिपयले पोखरीको पर्यावरणीय महत्व र सम्पदाको महत्व त्यति बुझ्न सकेका थिएनन् ।
अहिले भने स्थानीय जनप्रतिनिधि, सम्पदाप्रेमी अभियान्ताहरू र स्थानीय बासिन्दाहरूले कमलपोखरीको पुनर्निर्माण फलाम र कंक्रिटको कमल चाहिएको होइन् भन्दै निर्माण अघि नबढाउन आन्दोलन नै गरिरहेका छन् ।
वास्तवमा, मौलिक र पुरातात्विक सम्पदाको संरक्षण गर्नु सरकारको पनि दायित्व हो । मौलिक शैली र स्वरूपलाई कामय राख्दै पुनर्निर्माणलाई अघि बढाउनुपर्छ ।
तर, पुनर्निर्माणका नाममा आधुनिक र नवनिर्माणले नेपाली मौलिक संस्कृति र सभ्यता हराउने निश्चित छ । यसमा पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र स्थानीय सरकारका जनप्रतिनिधिहरूबीच समन्वयन र छलफल गरेर मात्र पुनर्निर्माणको कामलाई अघि बढाउनुपर्छ ।
अहिले काठमाडौं महानगरले क्षतिग्रस्त ऐतिहासिक सम्पदाको मौलिक तथा पुरानो स्वरूपलाई कायम राख्दै पुनर्निर्माण अघि बढेको देखिँदैन् । नत्र भने, धरहरा, रानीपोखरी र अहिले आएर कमलपोखरीजस्ता सम्पदाहरूको पुनर्निर्माणमा किन स्थानीय सरकार र स्थानीय बासिन्दाले बारम्बार बिरोध गर्नुपथ्र्यो ? महानगरले विरोध र विवादरहित ढंगले पनि सम्पदा पुनर्निर्माणको काम अघि बढाउन सक्थ्यो ।
‘सिमेन्टजन्य सामग्रीको प्रयोगले मौलिकता मासिन्न’ –महानगर
कमलपोखरीको ऐतिहासिक महत्वलाई बुझेर नै डिजाइन स्वीकृत गरेको महानगर बताउँछ । नेपालमा सिमेन्ट र कंक्रिट उत्पादन नै नभएको बेला कमलपोखरी पुनर्निर्माण गर्दा चुनढुंगाको मात्रै प्रयोग भएको र अहिलेको अवस्थामा चुनढुंगाले मात्र संरचनाले नअडिने भएकाले मौलिक स्वरूपलाई कायम गर्दै डिजाइनअनुसार पुनर्निर्माण अघि बढाइएको तर्क गर्छन् महानगरका प्रवक्ता ईश्वरमान डंगोल ।
केही ठाउँमा सिमेन्ट र स्टीलको प्रयोग गर्नुपर्ने भए पनि त्यसले मौलिकता नमासिने उनी बताउँछन् । धरहरा अहिले चुनढुंगाले बनाएर नअडिने र पुनः भूकम्प आउँदा ढल्ने भएकाले अवस्था र समयअनुरूप बनाउँदा सिमेन्ट र फलामको प्रयोग गर्नुपरेको उनी बताउँछन् ।
‘कमलपोखरीको मौलिकतालाई मासिने गरी हामीले पुनर्निर्माण गरेका छैनौ । हेराइमा त केही फरक हुनसक्छ । नेपालमा कमलपोखरी बनाउँदा सिमेन्ट र स्टील उत्पादन नै थिएन, चुनढुंगा प्रयोग भयो,’ उनले भने, ‘संरचनालाई बलियो पार्न कहीँ सिमेन्ट, स्टील र कंक्रिटको प्रयोग भए होला, त्यो बाहिर देखिने पनि होइन । त्यसले मौलिकतालाई असर गर्दैन ।’
उनले पुनर्निर्माणका क्रममा के प्रयोग भयोभन्दा पनि ‘फिनिसिङ’ भइसक्दा मौलिकता झल्कियो कि झल्किएन भन्ने कुरा महत्वपूर्ण हुने बताए । ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको मौलिकता कायम गर्दै पुनर्निर्माण हुनुपर्ने पुरातत्वविदहरू बताउँछन् ।
‘परम्परागत प्रविधि र सामग्रीको महत्व नै बुझिएन’–पुरातत्वविद
मौलिक सम्पदाहरूको महत्वहरू मानिसका विविध पक्षसँग जोडिएका हुन्छन्, चाहे त्यो सांस्कृति पक्ष होस् चाहेँ त्यो धार्मिक वा ऐतिहासिक पक्ष किन नहोस् ।
परम्परागत प्रविधिको महत्व र त्यस्को प्रयोग नबुझ्दा ऐतिहासिक सांस्कृतिक सम्पदाहरूको मौलिकता हराउँदै जान थालेको तर्क गर्छन्, पुरातत्वविद सुदर्शनराज तिवारी । ‘परम्परागत प्रविधि तथा सामग्रीको प्रयोग नबुझेर समस्या भएको हो, अझ त्यसलाई हेयको दृष्टिकोणले हेर्ने,’ उनले भने, ‘नयाँ प्रविधि आयो, अब त्यही नै प्रयोग उपयुक्त हुन्छ भनेर सोच्दिने प्रवृत्तिले पनि यस्ताखालका विवाद आइरहन्छ ।’
कमलपोखरीको हकमा पानी सुकाउनु र पोखरीको वरिपरि वा डिलमा सिमेन्ट वा कंक्रिट प्रयोग गर्नु उपयुक्त नभएको उनी बताउँछन् ।
‘कमलपोखरीको हकमा भन्नुपर्दा पानी सुकाएर पोखरी बनाउने भन्ने कुरा नै हुँदैन् । के हामीले नयाँ पोखरी बनाउन लाग्या हो र ?’ उनले प्रश्न गर्दै भने, ‘नयाँ पोखरी बनाउँदा पनि पानी सुकाएर बनाउनुपर्छ भन्ने हुँदैन ।’
महानगरले स्वीकृति नलिई अघि बढायो’ –पुरातत्व विभाग
क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको मौलिकता जोगाउने दायित्व पनि सरकारकै हो । तर, अन्तर निकायगत समन्वयकै अभाव हुँदा बारम्बार विवाद आउने गर्छ ।
कमलपोखरी पुनर्निर्माणका हकमा पनि यस्तै अन्तर निकायबीच कुनै समन्वयनै भएन् । कमलपोखरी पुनर्निर्माणका क्रममा काठमाडौं महानगरले नक्सा वा डिजाइन पेस वा कुनै स्वीकृति नै नलिएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम बताउँछन् ।
‘कमलपोखरीको हकमा हामीसँग महानगरले कुनै पनि डिजाइन वा नक्सा पेस गरेको अवस्था छैन । स्वीकृति पनि लिएको छैन,’ उनले भने, ‘पुरानै प्रविधि र सामग्री प्रयोग गर्दै मौलिकता जोगाएर पुनर्निर्माण गर्नुपर्ने दायित्व सबै निकायको हुनुपर्छ । तर, महानगरले कुनै स्वीकृति बेगर आफूखुसी सम्पदा निर्माण गरिरहेको छ ।’
मौलिकता र संस्कृति बचाउने दायित्व महानगरको पनि भएकाले आफू खुसी सम्पदा निर्माण अघि बढाउन नहुने गौतमको भनाइ छ ।
रानीपोखरीकै पाठ कमलपोखरीमा पनि सिके हुँदैन । रानीपोखरीमा सिमेन्ट र रड लगाउन नपर्ने । कमलपोखरीमा किन लाउनुपर्यो महानगरलाई,’ उनले भने, ‘मौलिकता जोगाउने दायित्व महानगरको पनि हो नी ।’
यीबाहेक अन्य मौलिक तथा ऐतिहासिक सम्पदाको पुनर्निमाण गरिरहँदा त्यस्को मौलिकता र पुरातात्विक महत्वलाई कायम राख्नुपर्ने पुरातत्वविदहरु बताउँछन् ।
काठमाडौं पुराना ढुंगे धारा, स्मारक, शिला, पोखरी, मठ, मन्दिर, स्तुप जस्ता ऐतिहासिक सम्पदाहरुले धनी सहर भएकाले पुनर्निमाण गर्दा त्यसको मौलिकता जोगाउनु जरुरी छ ।