काठमाडौं । सरकारले प्रदान गर्दै आएको विभिन्न सेवालाई सरल र पारदर्शी बनाउने उदेश्यसहित नागरिक एप शुभारम्भ भएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक समारोहमा उक्त एपको शुभारम्भ गरेका हुन् ।
सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र बनाउन सो एप प्रभावकारी हुने सो अवसरमा जानकारी दिइएको थियो । सरकारको डिजिटल नेपाल फ्रेमवर्क अन्र्तगत यो कार्यक्रम महत्वपूर्ण हुने अनुमान गरिएको छ । सरकारले छिट्टै डिजिटल नेपाल निमार्ण हुने विश्वास बढीरहेको बेलामा नागरिक एपको शुभारम्भ हुनुलाई सकारात्मक मान्न सकिन्छ ।
अहिले विभिन्न एपको प्रयोग दैनिक बढि रहेको छ । प्रविधिको पहुँच बढेसँगै एपबाटै काम गर्न सकिने भएकाले अधिकांशले एप चलाउन थालेका हुन् । पछिल्लो समय हवाई जहाजको टिकेट काट्नेदेखि खाजा अर्डर गर्नसम्म एपकै सहायता लिन सकिन्छ ।
के हो नागरिक एप ?
नागरिक एप स्मार्ट फोनमा अन्य एपहरु जस्तै सहजै डाउनलोड गर्न सकिन्छ । एन्ड्रोइड मोवाइलमा प्ले स्टोर तथा आईफोनमा एप स्टोर मार्फत नागरिक एप डाउनलोड गर्न सकिन्छ । सो एप खोल्ने बितिकै सरकारी सेवा हात हातमा भन्ने नारा देख्न सकिन्छ ।
नागरिक एप नेपाली र अंग्रेजी गरि २ वटा भाषामा हेर्न सकिन्छ । अंग्रेजी र नेपाली दुबै भाषामा एप चलाउन सकिने हुँदा यसले धेरैले प्रयोग गर्ने सहजै अनुमान गर्न सकिन्छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डिल्लीराम शर्माले नागरिक एक सबै नागरिकलाई सरकारी सेवा सम्बन्धि जानकारी लिन प्रभावकारी हुने बताएका छन् ।
नागरिकता सम्बन्धि विवरण भर्नुपर्ने
एपको पहिलो पानामा नागरिकता विवरण छ । यस्तै, दोस्रो पेजमा स्थायी लेखा नम्बर प्यान विवरण छ । तेस्रो पेजमा संञ्चय कोष, चौथोमा नागरिक लगानी कोष र पाँचौमा अन्य सेवाहरु समेटिएका छन् ।
अन्य सेवाहरुमा मतदाता परिचय पत्र, गुनासो दर्ता, लोकल सेवा, सामाजिक सुरक्षा कोष रहेको छ । यसरी नागरिक एपमा ५ पेज देख्न सकिन्छ । उक्त पाँच पेज पश्चात एप सेवा सुरु गुर्नहोस् लेखिएको छ ।
नागरिक एपमा आवद्ध हुन चाहनेले पहिले आफ्नो मोवाइल नम्बर राख्नु पर्नेछ । त्यसरी मोवाइल नम्बर राख्दा ६ अंकको कोड मोवाइलमा आउँने छ । ६ अंकको कोड राखेर मोवाइल प्रमाणीकरण गर्नुपर्नेछ । त्यस पश्चात परिचत्र पत्रको प्रकार छनोट गर्नु पर्नेछ । परिचय पत्रमा नागरिकता, मतदाता परिचयपत्र र राहदानी रहेको छ ।
एप चलाउन भर्नुपर्ने विवरण
कुनै पनि नागरिकले नागरिक एपमा सहभागी हुन नागरिकता, नागरिकता नम्बर, जारी भएको जिल्ला, जन्म मिति र नागरिकता जारी भएको मिति समावेश गर्नुपर्नेछ । डाटा भर्ने क्रममा त्रुटि देखिएमा एप चलाउन मिल्दैन । उक्त त्रुटि हटाएमा एप सञ्चालन गर्न सकिन्छ ।
‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सो एप्स सार्वजनिक भएका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने जानकारी दिए । उक्त एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै उनले युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।