काठमाडौं । भारतको लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सकिएको छ । आयोजनाको ६० प्रतिशत काम पूरा हुन बाँकी छ ।
अरुण तेस्रो नेपालमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको ९ किलोमिटरमध्ये ४ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको छ ।
आयोजनाले बुधबार ४० प्रतिशत प्रगति भएको विवरण सार्वजनिक गरेको छ । आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी काम जारी रहेको जानकारी दिएको छ । ‘आयोजना निर्माणले गति लिएको छ,’ ती अधिकारीले भने, ‘कोरोना महामारी अघिको जस्तो अवस्था नभए पनि आयोजना निर्माणले गति लिइरहेको छ ।’
आयोजनाले बाँध निर्माणका लागि नदी डाइभर्सनको काम सुरु गर्न लागेको छ । काम सुरु भएको १८ महिनाभित्र बाँधको काम सक्ने लक्ष्य आयोजनाको छ । आगामी सन् २०२३ अर्थात २०८० भित्र अरुण तेस्रो सम्पन्न गर्ने योजना छ । कोरोना महामारीले आयोजनाको सम्पन्न हुने तालिका केहीपछि धकेलिने संभावना छ । यद्यपि, आयोजनाले निर्धारित समयमा सम्पन्न गर्ने जनाएको छ ।
आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर शिलान्यास गरेका थिए । सतलज जलविद्युत् निगम लिमिटेडमा भारतको केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर छ ।
जसमा, हिमाञ्चल प्रदेशको २५.५१ प्रतिशत र बाँंकी सर्वसाधारणको सेयर छ । सतलजले एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमार्फत आयोजनाको निर्माण सुरु गरेको हो ।
कम्पनीले संखुवासभामा रहेको आयोजना स्थलदेखि ढल्केबर सबस्टेसनसम्म ४०० केभीको प्रसारण लाइन निर्माण गर्नेछ । २२५ मेगावाट क्षमताको चारवटा युनिटबाट ९ सय मेगावट बिजुली उत्पादन गरिनेछ ।
आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ ।
आयोजना बनाउन १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत् उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारण लाइन बनाउन खर्च हुनेछ ।
एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ । एसजेबीएनले स्टेट बैंक अफ इन्डिया (एसबीआई) बाट ४१ अर्ब भारु अर्थात ६५ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको छ ।
नबिल र एभरेस्टले गरी ९ अर्ब भारु अर्थात १४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन् । भारतको एसबीआई र नेपालका एभरेस्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेबीएनले ८० अर्ब रुपैयाँ अर्थात ५० अर्ब भारु ऋण लिनेछ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
मकालु–५ फ्याक्सिन्दा दोभानबाट ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका–२ को पुखुवामा विद्युत् गृहस्थल रहनेछ । विद्युतगृह पुखुवामा भारतीय पटेल इन्जिनिरिङ कम्पनीले काम गरिरहेको छ । आयोजनालाई लगानी बोर्डले सहजीकरण गरिरहेको छ ।