बनेपा । पाँचखाल नगरपालिका–९ आँपचौरमा रहेको ‘सिरिसघारी कबुलियती वन उपभोक्ता समूह’ त्यहाँ आबद्ध रहेका सदस्यहरुको अर्थ उपार्जनको गतिलो माध्यम बनेको छ ।
डिभिजन वन कार्यालयको सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा २०५१ सालमा दर्ता भएर सबैको सामूहिक प्रयासमा काम अगाडि बढाएपछि अहिले त्यहाँका बासिन्दाको जीवनमा नै सुधार आएको छ ।
स्थानीय मिलेर बिरुवाका रोप्नुका साथै फलफूलको बिरुवा रोपेर आएको उत्पादन समूहमा आबद्ध सदस्यहरुका लागि प्रयोग गरिएको सिरिसघारी कबुलियती वन उपभोक्ता समूह नं २० का सचिव पूर्णलाल उदासले बताए । “अहिले पनि डिभिजन वन कार्यालयको सहयोगमा हामीले ६०० बिरुवा र फलफूलमा आँप, कटहर र लिचीको बिरुवा लगाएका छौँ”, उनले भने “त्यससँगै जङ्गलमा लगाएको अन्य घाँस र डाले घाँसले वस्तुभाउ पाल्नलाई सहयोग मिलेको । ”
कबुलियती वन समूह निर्माण गरिएपछि घाँस, दाउरा र फलफूल उत्पादन गरी आम्दानीमा समेत वृद्धि भएको स्थानीय तारामाया उदासले बताइन् । “यसपालि मात्रै आठ÷नौ हजारको फलफूल बेचियो”, उनले भनिन् “जग्गा थोरै छ, वन आएपछि वस्तु भाउ पाल्न र आम्दानी गर्न सहयोग मिलेको छ ।”
पहिलापहिला सालको बोट र बुट्यान मात्रै भएको रातोमाटोको डाँडामा समूह गठन गरी बिरुवा, डाले घाँस र फलफूलको बिरुवा रोप्न थालेपछि सिङ्गो डाँडा नै हरियाली देखिएको उदासले बताए । वन समूहबाट वस्तुभाउ पालन, फलफूल र अन्य माध्यमबाट गरी वार्षिक ७०÷७५ हजार रुपैयाँदेखि एक लाखसम्मको आम्दानी गर्न सफल भएको अर्का सदस्य मञ्जु दवाडीले बताइन् ।
२१ नं समूहमा आबद्ध दवाडीले भनिन्, “यही वन समूहमा आबद्ध भएर घरको काम गरी थप आम्दानीको स्रोत पहिल्याउन सकेकी छु ।” अहिले खसी र बोका गरी छ र तीन वटा माउ बाख्रा पालेको उनको भनाइ छ ।
महादेवस्थान सवडिभिजन वन कार्यालयअन्तर्गत पर्ने सो कबुलियती वन उपभोक्ता समूहमा सात समूह गठन गरी स्थानीय बासिन्दालाई आम्दानीको स्रोत बनाइएको छ । समूह नं १८, १९, २०, २१, २२ २३ र २४ गरी सात वटा समूह गठन गरेका स्थानीयले आ–आफ्नो समूहभित्र परेको वनजङ्गलको संरक्षण, सवंद्र्धन र रेखदेख गर्दै आएका छन् ।
डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आव २०७५÷७६ को जीविकोपार्जन कार्यक्रमअन्तर्गत सातमध्ये तीन वटा समूहमा आबद्ध सदस्यलाई बाख्रापालन र फलफूलको बिरुवा वितरण गरी आयआर्जनका लागि थप सहयोग पु¥याएको डिभिजन वन अधिकृत बद्रीकुमार कार्कीले बताए ।
सो समूहमा आबद्ध सदस्यका लागि एक लाख ५० हजार रुपैयाँमा २५ वटा बाख्रा वितरण गरिएको कार्यालयले जनाएको छ । वन समूहमा र निजी जग्गामा लगाउने गरी वितरण गरिएको फलफूलको बिरुवामा आँप, कटहर र लिची छन् ।
समूहका वनमा बाहेक व्यक्तिको जग्गामा समेत एक घरपरिवारलाई ३० वटाका दरले फलफूलको बिरुवा वितरण गरिएको समूहका सचिव पूर्णलाल उदासले जानकारी दिए ।
वन संरक्षण र संवद्र्धनका लागि बनाइएको नियमले गर्दा आम्दानी र संरक्षण दुवै भएको उनको भनाइ छ । वन समूह गठन गरेपछि अहिले बरु व्यक्तिको जग्गामा घाँस चोरेर लान सक्छ तर समूहको वनमा रहेका घाँस कसैले छुनसमेत नसक्ने उनले बताए ।
“कसैले एक डोको घाँस चोरेको देखेमा पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ, समूहको निर्णयभन्दा बाहिर रहेर घाँस काट्नै पाइँदैन”, उदासले भने । समुदाय आफैँ मिलेर वन संरक्षण गरेकाले वनपालेको आवश्यकतासमेत नरहेको उनको भनाइ छ ।
सो वन समूहबाहेक त्यसैको उपयोगबाट शुरु भएको आम्दानीकै कारण अहिले गाउँमा नै बचत सहकारी संस्था स्थापना गरी बचतसमेत गर्दैै आएको छ । जसले स्थानीय जनताको जीविकोपार्जनमा उत्थान गर्न कृषि, पशुपालनदेखि जङ्गलमा घाँस उत्पादन गरी थप आम्दानीको स्रोत बनाउन सफल भएको छ ।
अहिले सात वटा नै समूहको प्रतिसमूह एक लाख ५० हजार रुपैयाँ बचत रहेको जनाएको छ । त्यति बचतले पनि केही गर्न नसक्ने भएकाले अहिले २०६६ सालबाट सिरिघारी कृषि सहकारी संस्था गठन गरी बचत गर्दै आएको उदासले बताए ।
सो संस्थामा अहिले १६ लाख रुपैयाँ बचत भएको छ । १० रुपैयाँदेखि जम्मा गर्दै गरेको पैसा अहिले न्यूनतम् १५ देखि अधिकतम ३० हजार रुपैयाँसम्म प्रतिसदस्यको बचत रहेको उदासले जानकारी दिए ।
सात समूहमा विभाजन गरी रेखदेख र आम्दानीको स्रोत बनाउँदै आएको उक्त समूहमा आँपचौरका ६३ घरधुरी आबद्ध छन् । रासस