काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विद्युत् खपत बढाउन सबैलाई आह्वान गरेका छन् ।
अहिले विद्युतकाे उत्पादन धेरै हुँदै गएकाले तत्काल खपत बढाउनुपर्नेमा उनले जोड दिएका हुन् । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री रायमाझीले आगामी वर्षादमा बिजुली बढी हुने बताएका हुन् ।
उनले भने, “पहिलो पटक ऊर्जामन्त्री हुँदा अभाव हुने समस्या थियो, अहिले ऊर्जामन्त्री हुँदा विद्युत धेरै हुने समस्या भएको छ, त्यसैले ऊर्जा खपत बढाउनुपर्ने भएको छ ।”
आगामी भदौसम्ममा ५०० मेगावाट बिजुली खेर जाने गरी उत्पादन भइरहेको बताउँदै उनले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा बिक्रीका लागि गृहकार्य पनि भइरहेको जानकारी दिए ।
उनले असार, साउन र भदौ ३ महिना बिजुली बढी हुने जानकारी दिए । यस्तै नेपाल विद्युत् प्राधिकरणले पनि रातको समयमा बिजुली खेर जाने बताउँदै आएको छ । प्राधिकरणले सुक्खायामको माग पूरा गर्न अहिले भारतबाट ६०० मेगावाटसमम बिजुली आयात गरिरहेको छ ।
बिजुलीको माग बढेर १४६० मेगावाटसम्म पुगेको छ । यस्तै विद्युत नियमन आयोगले बढी भएको बिजुली भारतीय बजारमा बिक्री गर्न विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ ।
प्राधिकरणले भारतको सरकारी कम्पनी एनभीभीएन विद्युत व्यापार कम्पनी लिमिटेडमार्फत पहिलो चरणमा २५ मेगावाट बिजुली प्रतिस्पर्धी मूल्यमा बिक्री गर्ने भएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी गरी यो आर्थिक वर्षमा प्रणालीमा ७०० मेगावाट बिजुली थप हुने संशोधित अनुमान विद्युत प्राधिकरणको छ । सरकारले यो वर्ष बिजुली उत्पादन बढाएर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।