काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छरिएको पुँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिएका छन् । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै–थोरै पुँजी सङ्कलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमुना भएको उनले बताए ।
नौ क्षेत्रमा काम गर्ने गरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जलविद्युत् आयोजनाको काम गुणस्तरीय र तीव्ररूपमा भइरहेको थाहा पाएको बताउँदै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना दिए ।
सामूहिक लगानीमा निर्माण भइरहेको सेतीखोला जलविद्युत् आयोजनाका लागि सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।
भिजन लुम्बिनीले तीव्र गतिमा पारदर्शी, सुशासन र जवाफदेहितासहित सामूहिक लगानीमा काम गरिरहेकाले निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने धेरै आधार देखिएकाले लगानी गरेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।
सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाइमा तीन बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले जानकारी दिए । एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।
५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि चार किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेशनमा जोडिनेछ ।
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गरेका छन । उद्योगधन्दा राम्रोसँग सञ्चालन गरेकाहरुले देश पनि राम्रोसँग सञ्चालन गर्न सक्ने बताउँदै उहाँले उद्योगी व्यवसायी पनि राजनीतिमा आए देश सफल हुने धारणा राखे ।
कांग्रेस नेता खाँणले भिजन लुम्बिनीको सामूहिक पुँजी र एकीकृत प्रयास अनुकरणीय रहेको थाहा पाउँदा खुसी लागेको बताए ।