काठमाडाैं । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र निर्माण सुरुआत गरेको छ । संस्थाले ८ करोड रूपैयाँको लागतमा भवन निर्माण अघि बढाएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा विसं २०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा–८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिए।
उनका अनुसार भवन निर्माणका लागि हालसम्म सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ५० लाख, महानगरबाट १५ लाख रूपैयाँ र अन्य विभिन्न संघ-संस्थाबाट ५ लाखभन्दा बढी सङ्कलन भएको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको जीर्ण भवनमा रहेका सरकार तथा विभिन्न दातृ राष्ट्रबाट प्राप्त करोडौँका मूल्यवान उपकरणको सुरक्षामा चुनौती रहेको कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
उनले भने वार्षिक २७ हजार रगत आवश्यक पर्ने यस क्षेत्रका जनजनको जीवनरक्षा जस्तो पवित्र कार्यमा सहयोग गर्न महानगरको ३३ वटै वडा, विभिन्न वित्तीय संस्था र उद्योगी व्यवसायीलगायत व्यक्तिलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ ।
सफल सहकारी आर्थिक सहयोग
पोखरा महानगरपालिका–१७ घारी पाटनद्धारा रक्त सञ्चार केन्द्र भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले २५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले उपलब्ध गराएको उक्त रकम बराबरको चोक संस्थाका अध्यक्ष वासुदेव पौडेल, निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला र सचिव गणेश श्रेष्ठले सामूहिक रुपमा भवन निर्माण समितिका संयोजक डोलराज पौडेललाई हस्तान्तरण गरे ।
संस्थाको १३ साधारणसभाका अवसरमा विरौटास्थित सीआरभी प्रहरीलाई माक्स, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।