काठमाडौं । नेपालमा अहिलेसम्म सवारीसाधनको जाँच मानिसले (म्यानुअल) गर्दै आएकामा अब उपकरणका माध्यमबाट गरिने भएको छ । टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले झण्डै एक दशक पहिले जडान गरेको उपकरण प्रयोगमा ल्याएर परीक्षण गर्न लागेको हो ।
सरकारले सो उपकरण ३ करोड रुपैयाँमा खरिद गरेको थियो । उपकरण प्रयोगमा आउन नसक्दा थन्किएको थियो भने सवारीसाधनको हेरेर मात्रै परीक्षण हुँदै आएको केन्द्रका प्रमुख मणिराम भुसालले बताए। उहाँकाअनुसार उपकरण प्रयोगमा ल्याउनका लागि केही समय पहिले निर्माण कम्पनीसँग छलफल गरिएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि केही महिना पहिले बोलाइएको सेन्टरका प्रमुख भुसालले बताए । उनका अनुसार चिनियाँ निर्माण कम्पनीका मुख्य इञ्जिनीयरलगायतको टोलीले उपकरणको अवस्था हेरेर मर्मत गर्न सकिने सल्लाह दिएको थियो ।
“टोङ्ली इक्युपमेन्ट प्रालिका प्राविधिकले सेन्सरलगायतका कतिपय मेकानिकल सामान फेर्नुपर्छ भनेको थियो”, उनले भन्, “काम लाग्ने सामान राखेर काम नगर्ने साना भाग फेरेर सञ्चालनमा ल्याइनेछ ।” “सेन्टरले आगामी दुई तीन महिनामा चलाउने योजनाका साथ काम अघि बढाएको छ, सो मर्मतका लागि ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ”, उनले भने ।
उपकरणबाटै सवारीसाधनको स्वस्थता परीक्षणका लागि सरकारले आव २०६६/०६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारीसाधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सेन्टरमा ठूला र साना सवारी साधनका लागि छुट्टाछुट्टै लेन रहेका छन् । कुनै पनि सवारीसाधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा नै देखिने उनले बताए। उनले भने, “मर्मतपछि दुवै लेन सञ्चालनमा आउने छन् ।”
सो उपकरण सञ्चालनमा आएपछि साना र ठूला दुवै खालका सवारीसाधन आ–आफ्नो लेनमा एउटाबाट छिरेर अर्को दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुनकुन भागको अवस्था कस्तो छ भनी जानकारी पाइनेछ । सवारीसाधन पास भए उसले प्रमाणपत्र पाउने र फेल भएमा पुनःमर्मत गरेर ल्याएर अवस्था ठिक भएपछि मात्रै प्रमाणपत्र पाउने सेन्टरले जनाएको छ ।
सो उपकरण प्रयोगमा आएपछि ब्रेक रोलर, सस्पेन्सन, साइट क्लिक, हर्न, लाइटलगायतका कुरा परीक्षण हुनेछ । अगाडि र पछाडिको पाङ्ग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन, पाङ्ग्राको साइड स्लिप, हर्नको अवस्था, हेडलाइटलगायतको समेत यसमा परीक्षण हुनेछ । हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पु¥याएर र गह्रौँ सवारीसाधन भइरहेकै स्थानमा तल्लोतलामा प्राविधिक गएर च्यासिसलगायतका भाग हेर्ने गर्छन् ।