काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रूपमा रहेकाले यस क्षेत्रमा देखिएका सबै समस्या एउटै राउन्ड टेबलमा बसेर हल गर्न आफूले चाहेको बताए ।
अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा सतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘सरकारले गर्नुपर्ने कामका बारेमा एउटै टबेलमा सबै बसेर समाधानको मार्ग पहिल्याउन सकिनेछ । त्यसका लागि यहाँहरु तयार हुनु होला ।
अब गुनासो गर्ने होइन अग्रगामी रूपमा अगाडि बढ्ने हो,’ उनले राष्ट्रिय सहकारी महासंघको सोमबार भएको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बताएका हुन् । मन्त्री पौडलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर सबैसहित सहकारी अभियान्ताहरुको राउन्ड टेबल कार्यक्रम गरेर यसलाई अगाडि बढ्न बाधा परेका सबै समस्यालाई एकै ठाउँबाट समाधान गर्न सरकार तयार रहेको बताए ।
राष्ट्रिय सहकारी महासंघको २८ औं वार्षिक साधारणसभा भौतिक तथा भर्चुअल रूपमा भएको थियो । ‘गुनासोले मात्र गन्तव्यमा पुगिँदैन । सरकारले के गर्नुपर्ने अभियानबाट योजना बनाउनुस् र त्यसको समाधान गरेर अगाडि बढौं,’ उनले बताए ।
भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सञ्चालन भैरहेको महासंघको साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपायका विषयमा समेत सुझाव दिनुपर्ने धारणा
राखे । उनले यस क्षेत्रमा देखिएका विकृतिहरु हटाउनसमेत ठोस कार्यक्रम अघि बढाउन आफू अभियानसँग सहकार्य गर्न तयार रहेको बताए ।
उनले सहकारी मैत्री नरहेका कानुनहरु संशोधनका संसदीय निर्वाचनपछि नयाँ संसदले गर्ने बताए । अन्य नीतिगत विषयमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताए । । साधारणसभामा निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशव बडालले लेख्नुभएको १६ औं पुस्तक समाजवाद र महासंघले प्रकाशन गरेको सहकारीका सिद्धान्तहरुको मार्गदर्शन विमोचन गरिएको थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले महासंघको आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै महासंघको सदस्य संघहरुको साझेदारीमा महासंघले विभिन्न कार्यक्रम गर्ने जानकारी गराए ।