काठमाडौं । एक वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री वसन्तकुमार नेम्बाङले कर्मचारीहरुलाई भनेका थिए, ‘कार्यशैली र कामको गति सुधार्नुस् । ६/७ महिनामा पनि कार्यशैली नसुधारे कामले ‘स्पीड’ लिन सकेन भने हामी फालिन्छाैं, मैले गम्भीर ‘एक्सन’ लिनुपर्ने अवस्था नरहोस् ।’
गत २०७६ मंसिर ५ मा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका मन्त्री नेम्बाङले विगतदेखि निर्माणाधीन विकास ठेक्का सम्पन्न गर्न निर्देशन दिए । विभिन्न रणनीतिक सडक तथा विकासे गौरवका आयोजनामा अवलोकनसमेत गरे ।
मन्त्रीकै निर्देशनअनुसार मातहतका निकाय र कर्मचारीले काममा केन्द्रित हुँदा धेरै हदसम्म पूर्वाधार आयोजनाहरुको निर्माणले राम्रै गति लिए ।विकासे निर्माणको काम हुने ‘सिजन’ सुरु हुँदा कोरोना महामारी भित्रियो । त्यसले केही हदसम्म उपत्यका बाहिरका कतिपय विकास आयोजनामा असर पर्यो । तर, काठमाडौं उपत्यका केन्द्रित विकास निर्माणका काम भने रोकिएन ।
कोरोना महामारीका कारण देश नै बन्दाबन्दी (लकडाउन)का बेला सडक विभागलाई काठमाडौंका सडक मर्मत तथा सुधार गर्ने उपयुक्त समय मिल्यो । किनभने, त्यतिबेला सार्वजनिक सवारीको आवतजावत बन्द थियो ।
त्यही मौकामा सडक विभागले काठमाडौं उपत्यकाका बाहिरी र भित्रि गरी ६२ किमी सडकमा मार्किङसहित खाल्डाखुल्डी पुर्ने र मर्मत समेत गर्यो । त्यतिबेला, गौशाला, नागढुंगादेखि नौबिसे, माइतीघरदेखि कोटेश्वर, कलंकीदेखि नागढुंगा क्षेत्रका सडक मर्मतसम्भार भए । फलस्वरुप, यहाँका सडकले स्वरुप नै बदले ।
मन्त्री नेम्बाङले नै निरीक्षण गरी छिटो सक्न निर्देशन दिएको गौशाला–चाबहिल–जोरपाटी सडकखण्ड पनि हालसालै कालोपत्रे सम्पन्न भइसकेको छ । वर्षौंदेखि स्थानीयको अवरोध, खानेपानीका पाइप तथा ढल निकासकै समस्याले सडक विस्तार तथा मर्मत हुन सकेको थिएन ।
फलस्वरुप, त्यहाँका स्थानीयले वर्षायाममा हिलो र हिउँदमा धुलो पीडा वर्षांैदेखि खेप्दै आएका थिए । गौशालादेखि चाबहिल र चाबहिल–चुच्चेपाटीतर्फको साढे २ किलोमिटर सडक कालोपत्रे भएपछि त्यहाँका स्थानीयले राहत महसुस गरेका छन् ।
जहिले पनि वर्षा हुने बित्तिकै डुबान हुने पुतलीसडक खण्डमा पनि चालू आर्थिक वर्षभित्रै मर्मत/सम्भार सम्पन्न भयो । त्यहाँ, वर्षौं पुराना ढलका पाइप ‘लिक’ हुँदा वर्षा हुने बित्तिकै सडक चुर्लुम्मै डुब्ने समस्या थियो । अब, जति ठूलो वर्षा भए पनि विगतमा जस्तो डुबान हुने समस्या धेरै हदसम्म कमी हुने सडक विभागले जनाएको छ ।
मुलुकमा अझै महामारी त्राससँगै राजनीतिक वृत्तमा देखिएको विवादका बीच विकासमा नयाँ आशा पलाएको छ, त्यो हो नागढुंगा–नौबिसे सुरुङमार्ग । शिलान्यास भएर निर्माणले गति लिँदै गर्दा कोरोना महामारी भित्रियो, यसले मुख्य सुरुङमार्ग निर्माण अघि बढाउन केही ढिला भयो ।
यद्यपि, गएको गत पुस ७ गतेदेखि मुख्य सुरुङमार्गको काम औपचारिक रूपमा अघि बढिसक्यो । केही दिनअघि त्यहाँको स्थानीय वडाअध्यक्ष र आयोजना क्षेत्रका बासिन्दाले नाजायज माग लिएर आयोजना रोक्ने चेतावनी दिए पनि अहिले त्यो विवाद समाधान भइसकेको आयोजनाले जनाएको छ ।
सुरुङ खन्ने काम ८/८ घण्टाको दुई सिफ्ट र ४/४ घण्टाको ओभरटाइसहित २४ सैं घण्टा काम गर्ने गरी कार्यतालिका बनाइएको छ । जापानको कम्पनी हाज्मा आन्दो कर्पोरेसनले तोकिएकै समयमै सक्ने बताएको छ । काठमाडौंतर्फ मुख्य राजमार्गबाट टोटेपाखासम्म सुरुङमार्गको ‘साइट’ सम्म पुग्ने सर्भिस लेन सडक निर्माण भइसकेको छ ।
अहिले काठमाडौंका भित्रि तथा बाहिरी सडकका खाल्डाखुल्डी पुरिएका छन् । जसका कारण विगतमा जस्तो धुलो र हिलोको समस्यामा धेरै कमी आएको महानगरवासी बताउँछन् ।
अहिले माइतीघरदेखि कोटेश्वरसम्मको सडक चिल्लो पारिएको छ । विगतमा त्यस सडकमा धेरै खाल्डाखुल्डी थिए । विदेशी पाहुना आउँदा विगतमा रातारात सडक पिच गर्ने परम्परा अहिले अन्त्य भएको छ ।
विदेशी पाहुना जतिबेला आए पनि सडक नबिग्रने गरी मर्मत/सम्भार गरी काठमाडौंको सडकलाई चिटिक्क पारिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । पुराना ठेक्कालाई पूरा गर्ने नीति, अर्थ मन्त्रालयबाट विगतमा भन्दा बढी बजेट प्राप्त भई त्यसअनुसार कर्मचारीको लगनशीलता र अनुगमन तथा निर्देशनका कारण सडक सुधारमा सोचेजस्तै प्रगति भएको शर्मा बताउँछन् ।
‘हामीले पुराना ठेक्कालाई पूरा गर्नुपर्ने भन्ने नीति लियौं । त्यसअनुसार, अर्थ मन्त्रालयलाई ‘कन्भिन्स’ गरेर मर्मत सम्भारका लागि बजेटको व्यवस्था गर्यौं। जुन विगतमा भन्दा बढी प्राप्त भयो ।’ उनले भने, ‘त्यसअनुसार, लगनशीलतापूर्वक कर्मचारीलाई गर्न उत्प्रेरित गर्र्यौं, मन्त्रालय र मन्त्रीज्यूबाट हामीले गरेको प्रस्तावको समर्थन भयो । यिनै कारणले काठमाडौंका सडक सुधारमा धेरै सफल भयौं ।’
६२ किलोमिटर सडक मर्मत, डेढ अर्ब खर्च
गत आर्थिक वर्ष र यो चालू आवमा गरी काठमाडौं उपत्यकाभित्रका ४ लेन, ६ लेन र सर्भिस लेन गरी करिब ६२ किलोमिटर सडक मर्मत÷सम्भारको काम भएको सडक विभागले जनाएको छ । लकडाउन र लकडाउनपछि उपत्यकाभित्रका सडक धमाधम मर्मत तथा स्तरोन्नति भए ।
भीआईपी तथा भीभीआईपी सडकहरु धमाधम कालोपत्रे भए । अहिले पनि कतिपय सडकमा मर्मत÷सम्भार र कालोपत्रे भइरहेको विभागले जनाएको छ । अहिलेसम्म काठमाडौं उपत्यकाभित्र करिब ६२ किलोमिटर सडक मर्मत÷सम्भारमा झन्डै डेढ अर्ब रुपैयाँ खर्च भइसकेको शर्माले जानकारी दिए ।