एजेन्सी । अर्थशास्त्रीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना महामारीका कारण कमजोर बनेको अर्थतन्त्रलाई उकास्न लगानीकर्ताको विश्वास बढाउन सुझाव दिएका छन् ।
बजेट सुझाव लिन प्रधानमन्त्री मोदीले आयोजना गरेको भर्चुअल छलफलमा भारतका दिग्गज अर्थशास्त्रीहरुले अहिलेको अवस्थामा लगानीको वातावरण बनाउन निजी क्षेत्रको विश्वास आवश्यक भएको सुझाएका हुन् ।
लगानी बढाउन सरकारले हरेक किसिमका चुनैतिलाई हटाउनु पर्ने सुझाव उनीहरुको थियो । धेरै सुधारका उपायहरु अपनाउँदा पनि लगानीकर्ताहरुले भारतमा लगानी गर्न अझै शंका गरिरहेको भन्दै अर्थशास्त्रीहरुले सरकारको ध्यानकर्षण गराएका थिए ।
लगानी आकर्षण गर्न करको पारिपालना घटाउने, भन्सारदर कम गर्ने, व्यवसायमा सहजिकरण र भारत विश्वको सप्लाइ चेन भएको जानकारी गराउनुपर्ने उनीहरुको सुझाव थियो ।
अर्थशास्त्रीहरुले आवश्यक परेमा निजीकरणका साथै ट्याक्स टु जीडीपी रेसियोमा सुधार गर्न लागि वेग्लै मन्त्रालय गठन गर्न सुझाएको द इकोनोमिक्स टाइमले जनाएको छ । सन् २०१८ देखि यो अनुपात कम रहेको छ ।
सो अवसरमा अर्थशास्त्रीहरुले भारतलाई ग्लोबल चेनको अंग बनाउन लगानी बढाउने एजेन्डा, आयात भन्सारदरलाई विवेकपूर्ण बनाउन धक्का दिनुपर्ने सुझाएका छन् । यस्तै बैंकहरुको बढ्दो खराब कर्जाको सम्बोधन गर्न राज्यबाट पुर्नलगानीमा जोड दिएका छन् ।
बैठकमा १६ जना वरिष्ठ अर्थशास्त्रीका अतिरित्त नीति आयोगका उपाध्यक्ष अरविन्द पन्गरिया, पूर्व वरिष्ठ आर्थिक सल्लाहकारहरु शंकर आचार्य, अरविन्द भिमारी र अशोल लहारी, न्यू डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष केभी कामनाथ र रिजर्व बैंकका पूर्व डेपुटी गभर्नर राकेश मोहनलगायतको सहभागिता रहेको थियो ।
वित्तमन्त्री निर्मला सीतारमनले आगामी फेब्रुअरी १ मा बजेट संसदमा पेश गर्ने भएकी छिन् । भोडाफोनका कारण अन्तर्राष्ट्रिय आर्विटेसनले विश्वासको वातावरणलाई बिगारेको बताउँदै ती अर्थशास्त्रीहरुले अब सरकारको सुधार अग्रसरतमा श्रम ऐनमा पनि परिवर्तन गर्न सुझाएका छन् ।
पूर्वाधारमा लगानीका साथै सरकारी खर्च बढाएर कोरोना प्रभावित अर्थतन्त्रलाई वृद्धिको बाटोमा लैजान सक्ने सुझाव अर्थशास्त्रीहरुको थियो । एक वरिष्ठ अर्थशास्त्रीले भारतको अर्थतन्त्रलाई १० ट्रिलियन डलरको बनाउन १० वर्षको मार्गचित्र (रोडम्याप) बनाउन प्रधानमन्त्री मोदीको ध्यानकर्षण गराएका थिए । चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्र ७.७ प्रतिशतले खुम्चिने सरकारले प्रक्षेपण गरेको छ ।