देशभित्र उद्योग व्यवसायलाई कसरी बढावा दिइन्छ भन्ने कुरा त्यो देशको अर्थतन्त्रको विस्तारमा निर्भर रहन्छ । युवा जनशक्तिहरू रोजगारीका लागि विदेश पलायन हुँदै गइरहेको अवस्थामा स्वदेशमै कसरी रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ? कुन–कुन कारणले गर्दा यसो गर्न हामी असमर्थ छौं ? भन्ने कुराको पहिला खोजी हुनु जरुरी छ । एउटा उद्योग स्थापनाअघि जग्गा, विद्युत्, कच्चा पदार्थ आपूर्ति र तयारी सामान स्वदेश अथवा विदेश निर्यातका लागि सहज पहुँच मार्ग (कनेक्टिभिटी) चाहिन्छ ।
हामीले विशाल मुलुक चीन र भारतसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसकारण हाम्रो उत्पादन लागत पनि घट्नै पर्छ । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले हाम्रो ढुवानी खर्च अत्यधिक छ । औद्योगिक विकास हुनुपरयो, त्यसका लागि पहिले कनेक्टिभिटीको विस्तार हुनुपर्छ । उद्योग स्थापनाको लागत घटाउन सरकारले जग्गा निःशुल्क उपलब्ध गराउनुपर्छ ।
भैरहवामा अहिलेसम्म रेलवे कनेक्टिभिटी आइसकेको छैन । भन्सार विभागले ५४ विगाह जग्गा अधिग्रहण गरेर राखेकै एक दशक भइसकेको छ । अहिले हामीले कुनै पनि तेस्रो मुलुुकबाट भारतको कोलकाता हुँदै एक कन्टेनर माल सबै जाँच प्रक्रिया पूरा (क्लिनिङ) गरेर भैरहवासम्म ल्याउन मात्र झण्डै २ लाख रुपैयाँ लाग्छ । रेलको कनेक्टिभिटी भैरहवासम्म आइदिने हो भने त्यो सामान १ लाख रुपैयाँमै आउँछ । त्यसकारण ढुवानी खर्च घट्दा हाम्रो उत्पादन हुने सामानको मूल्यसमेत घट्छ ।
क्षेत्रीय रुपमा भैरहवा विमानस्थल छिटोभन्दा छिटो निर्माण गरी सञ्चालनमा ल्याउनुपर्छ । अर्कोतिर एकीकृत जाँच चौकी स्थापना र मोतीपुरमा औद्योगिक ग्रामको स्थापना भए धेरै उद्योगहरू खुल्ने सम्भावना रहन्छ र त्यही अवधारणामा अन्यत्र पनि औद्योगिक विकास गर्न सकिन्छ । औद्योगिक विकास कसरी गर्ने भनेर छिमेकी मुलुकहरू भारत, बंगलादेश, श्रीलंकालाई हेर्न सक्छौं । ८ वर्षको अवधिमा दुई पटक भैरहवा सेजको उद्घाटन भए पनि अझै त्यहाँ विद्युत् आपूर्ति हुन सकेको छैन ।
सन् २००५ मा ५४ विगाहमा ३०–४० वटा उद्योग राख्ने गरी अघि बढाइएको परियोजना आजसम्म किन सफल हुन सकेको छैन ? विद्युत् उपलब्धता, भाडादर तोक्ने कुरा र एकद्वार प्रणालीबाट सेवा दिने कुरामै अझै अल्मलिइरहेको पाइन्छ । उद्योग राख्दा उद्योगीले भाडा कति तिर्छन् भनेर हेर्ने होइन ।
कति रोजगारीको दिए र आगामी दिनमा राज्यले कसरी राजस्व प्राप्त गर्छ भन्ने आधारलाई लागत लाभ विश्लेषण गरी हेर्नुपर्छ । सरकारले उद्योगलाई बढावा दिन आफ्नो दिल ठूलो पार्नुपर्छ किनभने नेपालमा खुल्ने कुनै पनि उद्योगले भारत र चीनको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्छ । नभए यहाँ उद्योग जन्मिँदैन । औद्योगिक विस्तार नभएसम्म व्यापार घाटाका बारेमा जति नै कराए पनि केही हुँदैन ।