काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा पहिलो पटक डिजिटल कारोबार सुरु भएको छ । प्रभु बैंकको पहलमा तरकारी बजारमा रहेका स्टलहरुमा क्यूआर कोर्डमार्फत भुक्तानी सेवा सुरु भएको हो ।
तरकारी बजारमा डिजिटल कारोबार सेवाको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले औपचारिक सुरुवात गरे । गभर्नर अधिकारीले तरकारी बजारमा साढे २ केजी काउलीकाे १ सय रुपैयाँ क्यूआर कोर्डमार्फत भुक्तानी गरेर अभियानको सुरुवात गरेका थिए ।
अधिकारीले अर्को स्टल पुगेर एक केजी च्याउ किनेबापत डेढ सय रुपैयाँ पनि क्यूआर कोर्डको प्रयोग गरी रकम भुक्तानी गरे । क्यूआर कोर्डको औपचारिक उद्घाटन गर्दै अधिकारीले बजारलाई स्मार्ट र आधुनिकीकरण गर्न विद्युतीय कारोबारमा जोड दिनुपर्ने बताए ।
राष्ट्र बैंकले पनि नगदको प्रयोगलाई कम गर्दै डिजिटल कारोबारलाई बढावा दिँदै गएको भन्दै उनले अबका दिनमा नगद बोकेर हिँड्ने झन्झट अन्त्य गर्नुपर्ने बताए । कालीमाटीसहित अन्य बजारमा पनि डिजिटल कारोबार विस्तार हुनुपर्ने उनको भनाइ छ ।
‘अबका दिनमा नगद बोक्नुपर्ने छैन, अरु बजारमा पनि डिजिटल कारोबार विस्तार हुनुपर्छ उनले भने, ‘यसले बजारलाई स्मार्ट र आधुनिकीकरण हुन सहयोग पुर्याँउँछ । यसलाई अभियानकै रुपमा अघि बढाउने हाम्रो लक्ष्य छ ।’
आफूले नगदसहित पर्स बोक्न छाडेको भन्दै अधिकारीले विद्युतीय कारोबारले देशलाई सुशासन र पारदर्शीतातर्फ अघि बढाउने बताए ।
‘मैले पर्स बोक्न छोडेको धेरै भयो । मेरा चेकबुक केही पुराना भइसके, केही म्याद सकिनै लागे होलान । मोबाइलबाटै तिर्छु ।’ उनले भने, ‘हामीले विद्युतीय कारोबार सुरु गर्दा देशमा सुशासन र पारदर्शीता हुन्छ ।’ अहिले डिजिटल र विद्युतीय कारोबार भएका मुलुक हेर्ने हो भने तुलनात्मक रुपले सुशासनयुक्त भएको उनको भनाई छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराइले डिजिटल कारोबार सुरु भएपछि बजार थप सुरक्षित र पारदर्शी हुने बताए । उनले कालीमाटी बजारमा कारोबार गर्ने सबै व्यापारी र उपभोक्तालाई अनिवार्य रुपमा क्यूआर कोर्डमार्फत भुक्तानी गर्न आग्रह गरे ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनले कालीमाटी तरकारी बजारमा सुरु भएको नगदरहित कारोबारले नयाँ युगको सुरुवात भएको बताए । तरकारी बजारमा छोटो समयमै बैंकले सबैको सहयोगमा डिजिटल कारोबार सुरु गर्न सफल भएको बताए ।
उनले आउँदा दिनमा वीर अस्पताल, तिलगंगा, टेकु अस्पताल लगायतका सार्वजनिक सेवा क्षेत्रमा बैंकले क्यूआर कोर्डमार्फत डिजिटल कारोबार सेवा पुर्याउने बताए ।
कालीमाटी तरकारी बजारमा ४ सय ९४ तरकारी पसल तथा स्टलहरुमध्ये २ सय पसलमा क्यूआर कोर्डमार्फत भुक्तानी सेवा सुरु भएको छ । तरकारी बजारमा वल्र्ड लिंकले निः शुल्क वाईफाई सेवा उपलव्ध गराएको छ ।
कालीमाटीका तरकारी बजारका पसलका कतिपय व्यापारीहरुलाई अहिले पनि मोबाइलमार्फत क्यूआर कोर्ड प्रयोग भुक्तानी कसरी गर्ने र कसरी सेवा सुचारु गर्न आउँदैन् ।
त्यस्ता, विभिन्न तरकारी पसलका व्यापारीलाई प्रभु बैंक तथा ‘फोन पे’का स्वंयमसेवकहरुले एक महिना क्यूआर कोर्डमार्फत कसरी रकम प्राप्त गर्ने, कारोबारका विधि तथा तरिकाबारेमा सिकाउने छन् ।
तस्बिरः नाजिया श्रेष्ठ