एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै टेस्ला गाडी कम्पनीका मालिक इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढिरहेको छ। विद्युतीय कार कम्पनीको सेयर मूल्य वृद्धि भएपछि उनको सम्पत्ति बढेको हो।
बिहीबार टेस्लाको सेयर मूल्य बढेसँगै मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । क्यानडाली मूलकी आमा र दक्षिण अफ्रिकी मूलका बाबुबाट सन् १९७१ जुन २८ मा जन्मेका मस्क ५० वर्षे अमेरिकी उद्यमी हुन् । उनको कार कम्पनीले आज टोयोटा, फक्सवागन, हुण्डाई, जनरल मोटर्स र फोर्डलाई समेत पछि पारिसकेको छ ।
बेजोस पनि केही वर्ष अघिदेखि नै निरन्तर पहिलो धनीको सूचीमा थिए । कोरोना भाइरस महामारीका कारण उनको कम्पनी अमेजनले अनलाइन स्टोर र क्लाउड कम्प्युटिङ सेवा दुवैतर्फको व्यापार वृद्धि भएको छ ।
टेस्लाको सेयर मूल्य गत वर्ष नै सात गुणाले बढेको थियो । सन् २०१४ मा मैले उनको अन्तर्वार्ता लिँदा उनले आफू कति धनी थिएँ भन्ने आफैँलाई थाहा नभएको बताएका थिए।
उनले भनेका थिए, कहीँ नगदको खात छ भन्ने होइन। यो त्यति मात्र हो कि मसँग टेस्ला, स्पेसएक्स र सोलारसिटीका लागि केही मतहरू छन् र बजारमा ती मतका मूल्य छ।
उनले धनले मात्र आफूलाई नतानेको बताएका थिए। उनको यो दृष्टिकोणले वास्तवमै काम गरिरहेको देखिन्छ। गएको एक वर्षमा यसको सेयर मूल्य बढेर ७०० अर्ब डलरभन्दा बढी भयो। उनी आफ्नो अधिकांश पैसा मङ्गल ग्रहमा एउटा आधार बनाउनमै खर्च हुने ठान्छन् र त्यसका लागि उनको सम्पूर्ण भविष्य सकिए पनि आश्चर्यचकित हुने छैनन्।
मस्कका व्यवसायहरूको विचित्रको कुरा त्यसमा रहेको दुस्साहस हो। उनी कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन्, मङ्गल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन्, भ्याक्युम टनेलमा तीव्र गतिको रेल दौडाउन चाहन्छन्, आर्टिफिसियल इन्टलिजेन्सलाई मानिसको दिमागमा एकीकृत गर्न खोज्छन् र सौर्य ऊर्जा तथा ब्याट्री उद्योगलाई बढाउन चाहन्छन्।
यी सबै कुराहरू सन् १९८० ताका बालबालिकाहरूका लागि प्रकाशित हुने पत्रिकाहरूमा भविष्यको कल्पना गरिएर लेखिएका कथाहरूमा पाइन्छन्।
मस्क पनि त्यसलाई लुकाउँदैनन्। उनले दक्षिण अफ्रिकामा बालक हुँदा हेरेका फिल्महरू र पुस्तकहरूबाट आफू प्रेरित भएको बताए। उनी धेरै कम्पनीहरू न्यून महत्त्वाकाङ्क्षा रहेको ठान्छन्।
उनी यदि कुनै कम्पनीको प्रमुखले सामान्य खाले लक्ष्य राखेर त्यो पूरा नभए पनि कसैले उसलाई दोष नदिने तर कसैले ठूलो उद्देश्य राखेर त्यो पूरा नभए उसलाई हटाइने दाबी गर्छन्।
खतरा मोल्न तयार
मस्क अधिकांशले मोल्नेभन्दा बढ्तै खतरा मोल्छन्। उनले सन् २००२ मा उनका सुरुका दुईवटा उद्यमहरू बिक्री गरेका थिए। एउटा जीपटु नामक इन्टरनेट सिटी गाइड थियो भने अर्को अनलाइन भुक्तानी सेवा पेपाल थियो।
त्यसबेला उनी ३० वर्षमा प्रवेश गर्दै थिए र उनीसँग बैंकमा करिब २० करोड डलर थियो। उनको उद्देश्य आधा भविष्यको व्यापारमा लगाउने र आधा बचत गर्ने थियो। तर त्यसले काम गरेन। मैले उनलाई भेट्दा उनी आफ्नो व्यवसायका अँध्यारा दिनहरूबाट भर्खरै बाहिर आउँदै थिए। उनका नयाँ कम्पनीहरूले हर तरहका समस्याहरू भोगिरहेका थिए।
स्पेसएक्सका पहिला तीनवटा योजना असफल भएका थिए भने टेस्लाले उत्पादन, वितरण र डिजाइनको समस्या भोगिरहेको थियो। त्यसबेला आफूसँग कि त पैसा राख्ने र कम्पनीहरूलाई मार्ने वा लगानी गरेर एउटा मौका पर्खिने विकल्प रहेको उनी बताउँछन्।
उनले पैसा लगानी गर्दै गए। ऋणमा डुबेका बेला उनले जीवन निर्वाहका लागि समेत साथीहरूसँग रकम माग्नुपर्यो।उनले आफूलाई त्यस्तो नलागेको तर आफ्ना छोराछोरीका लागि सरकारी स्कुलमा पढाउनु पर्ने हुनसक्छ भन्ठानेर एउटा स्कुलमा गएको बताए।
आलोचकको बेवास्ता गर्नु
मस्कको व्यापारमा सफलताको अर्को सूत्र हो। आलोचकको कुरा नसुन्नु। सुरुवातमा उनले स्पेसएक्स वा टेस्लाले कहिले कमाउलान् भनेर नसोचेको मलाई बताएका थिए। त्यसबेला अरूले पनि त्यस्तै सोचेका थिए। तर, उनले सबै आलोचनाको बेवास्ता गरे र अघि बढे।
उनी आफू मूर्ख देखिने कुराले चिन्तित हुँदैनन्। त्यसले निर्णय क्षमतालाई निकै सजिलो पार्छ र आफूले गर्न चाहेको कुरामा केन्द्रित हुन मद्दत गर्छ।
टेस्ला मोडेल३ का लागि उनले लगातार साता १२० घण्टा काम गरेको दाबी गरिन्छ।उनी सामाजिक सञ्जालमा उनले व्यक्त गरेका अभिव्यक्तिहरूले पनि विवादमा आइरहन्छन्।
कोरोना भाइरसपछि लगाइएको लकडाउनलाई लिएर पनि उनले त्यसको विरोध गरेका थिए । उनले आफ्नो नवजात छोराको अनौठो नाम राखेर पनि चर्चामा आएका थिए।