काठमाडौं । विद्युत नियमन आयोगले बढी हुने बिजुली भारतमा निकासी गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको छ । आयोगले अनुमति दिएकाले विद्युत प्राधिकरणलाई भारतमा बिजुली निकासीको बाटो खुला भएको छ । उसले भारतमा बिजुली बेच्न पहिलोपटक प्रतिस्पर्धाबाट भाग लिन पाउने भएको छ ।
नियमन आयोगको बैठकले प्राधिकरणलाई शर्तसहित बिजुली बेच्न अनुमति दिएको सदस्य तथा प्रवक्ता डा. रामप्रसाद धितालले क्यापिटल नेपाललाई बताए ।
उनले वर्षादमा बढी हुने बिजुली बिक्रीका लागि प्रतिस्पर्धामा भाग लिन बाटो खुलाएको स्पष्टपारे । जगेडा राखेर बढी भएको मात्र बिजुली निकासी गर्न प्राधिकरणलाई अनुमति दिएको धितालले जानकारी दिए ।
सुख्खायाममा भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था छ । प्राधिकरणले सुख्खायाममा बिजुलीको माग पुरा गर्न भारतबाट ६०० मेगावाट बिजुली आयात गरिरहेको छ ।
आयोगले बढी हुने बिजुली मात्र भारतमा बेच्न अनुमति दिएको उनको भनाई छ । वर्षामा मात्र बिजुली बढी हुने बुझाइ आयोगको छ । यद्यपी, नेपालको विद्युत् मागमा असर पर्ने गरी निकासी गर्न नपाइने भएको छ । बिजुलीको मूल्य प्रधिस्पर्धाबाट निर्धारण हुनेछ ।
प्राधिकरणले प्रतिस्पर्धामा भाग लिन भारतको एनभीभीएन विद्युत व्यापार निगम लिमिटेडमार्फत प्रतिस्पर्धामा भाग लिने भएको छ । प्राधिकरणले वर्षायामका चार महिना अर्थात जूनदेखि सेप्टेम्बरसम्म २५ मेगावाट बिजुली बेच्न सकिने प्रस्ताव गर्दैछ । नेपालको बिजुलीको प्रतिस्पर्धी बजारमा मूल्य कति हो ? त्यो पनि स्पष्ट हुनेछ ।
भारतको डीआरपीएल विद्युत् वितरण कम्पनीले २५ देखि ७०० मेगावाटसम्म बिजुली आपूर्ति गर्न बोलपत्र आव्हान गरेको छ । त्यसमा प्राधिकरणले पहिलो चरणमा २५ मेगावाट बिजुली निर्यातका लागि भाग लिन लागेको हो । यसअघि नै सरकारले बढी भएको बिजुली भारतमा निकासी गर्न प्राधिकरणलाई अनुमति दिइसकेको थियो ।