काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्र शाक्य विद्युतको माग र गुणस्तरको अवस्था बुझ्न भैरहवा पुगेका छन् ।
बुधबार र बिहीबार त्यस क्षेत्रका विभिन्न वितरण केन्द्र, वितरण प्रणाली, निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको प्रगतिबारे जानकारी लिएका थिए ।
भैरहवा र बुटवल क्षेत्रका अधिकांश उद्योगले गुणस्तरीय र मागेजति बिजुली नपाएको गुनासो आएसँगै शाक्यले त्यस क्षेत्रको अवलोकन गरेका हुन् ।
‘खासगरी बिजुलीको माग कहाँ के छ र कसरी सहज गर्न सकिन्छ, लोड कसरी वृद्धि गर्न सकिन्छ भनेर बुझ्ने प्रयास गर्यौं,’ शाक्यले भने ।
विगतमा भन्दा भैरहवामा बिजुलीको गुणस्तर सुधार हुँदै गएको भए पनि अझै उद्योगले मागेजति बिजुली पाउन नसकेको उनले बताए ।
‘भैरहवा क्षेत्रमा विगतमा भन्दा अहिले बिजुलीको गुणस्तर राम्रो हुँदै गएको छ,’ उनले भने, ‘तर, अझै पनि उद्योगले मागेजति बिजुली दिन सकिएको छैन । सबै लाइनहरू ओभरलोड भएको छ । नयाँ लाइनहरू तान्न गाह्रो भइरहेको छ ।’
उनले निर्माणाधीन बुटवल–भैरहवा प्रसारण १३२ केभी लाइन र मैनहिया सबस्टेसनको प्रगतिबारे जानकारी लिएका थिए ।त्यसक्रममा, मैनहिया सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको र १३२ केभी बुटवल–भैरहवा प्रसारण लाइनको निर्माण ४ महिनाभित्र सम्पन्न हुने आयोजना प्रमुख हरि पाण्डेले जानकारी दिएका थिए ।
शाक्यले निर्माणाधीन प्रसारण लाइन र सबस्टेसन निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन दिए । शाक्यले भैरहवा, अमुवा, बुटवल वितरण केन्द्रमा समेत पुगेर त्यहाँको विद्युत् वितरणको अवस्थाबारेमा जानकारी लिएका थिए ।
बुटवल र भैरहवा क्षेत्रका उद्योगहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न के गर्न सकिन्छ भनेर शुक्रबार त्यसक्षेत्रका उद्योगीसँग छलफल गर्न लागेको शाक्यले बताए ।