काठमाडौं । आगामी चैतबाट चक्रपथ अन्र्तगतको कलंकी–महाराजगन्ज दोस्रो खण्डको काम सुरु हुने भएको छ । चक्रपथ निर्माणको दोस्रो खण्डको सडक विस्तार र स्तरोन्नतीको काम अघि बढाइने सडक विभागले जनाएको छ ।
अहिले उक्त सडक खण्डमा रहेका बिजुलीको पोल, खानेपानी पाइप, दुरसञ्चार तथा सेवा प्रदायकका तार तथा केवलहरु व्यवस्थापन र क्लियरेन्स गर्ने काम अघि बढाइएको छ । त्यसखण्डमा पर्ने बिजुलीका पोल, तार, ११ केभी भोल्टेज फिडर, ट्रान्समिटर सार्न नेपाल विद्युत् प्राधिकरणलाइ लगत स्टमेटअनुसार रकम भुक्तानी गरिसकेको छ ।
प्राधिकरणले साढे १० करोड रुपैयाँ लगत स्टमेट माग गरेअनुसार नै रकम निकासा गरिएको सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।
उनले आगामी चैतसम्म सडकखण्डको ‘साइट क्लियरेन्स’ गरी निर्माणका लागि चिनिँया कम्पनीलाई हस्तान्तरण गर्ने बताए । दुरसञ्चार प्राधिकरण र सेवाप्रदायक कम्पनीलाई पनि लगत स्टमेट माग गरिएको विभागले जनाएको छ ।
खानेपानी संस्थाले अहिलेसम्म लगत स्टमेट माग गरेको छैन् । अहिले त्यसखण्डका छेउछाउमा नयाँ तथा पुराना पाइपलाइनहरु विच्छ्याएको छ । सडक विस्तार तथा स्तरोन्नती गर्न ती संरचना पनि सार्नुपर्ने हुन्छ ।
लागत ६ अर्ब
उक्त चक्रपथखण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सडक विभागले जनाएको छ । अहिले नपुग ४ लेनको सडकलाई ८ लेनमा विस्तार हुनेछ । निर्माण हुने चार लेनको बीच खण्ड २/२ लेनमा छुट्याइ बनाइनेछ ।
मुख्य मुख्य सहरीक्षेत्रमा आकाशे पुल निर्माण गरिने थापाले बताए । डीपीआरपछि मात्र कति र कहाँ कहाँ पुल बनाउने भन्ने यकिन हुने उनको भनाइ छ ।
सडक खण्डको चीनिँया कम्पनीले यसअघि नै सर्भे गरिसकेको छ । डीपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनिँया कम्पनीमार्फत हुनेछ । साढे ८ किलोमिटर दुरी रहेको भित्री चक्रपथ चिनिँया सरकारको अनुदान सहयोगमा बन्नेछ ।
‘आगामी चैतपछि नै उक्त चक्रपथ खण्ड निर्माण सुरु गर्न चिनिँया पक्षलाई ‘ह्यान्डओभर’ दिने योजनामा छौं’ प्रमुख थापाले भने । उनका अनुसार, साढे २ बर्षभित्र उक्त चक्रपथखण्ड निर्माण सम्झौता रहेको छ ।
उक्त भित्री चत्रपथ खण्ड निर्माणमा चिनिँया कम्पनीलाई सडक विभागले प्रशासनिक, खरिद र आन्तरिक वातावरणमा सहजीकरण गर्ने छ । यसअघि कलंकी—कोटेश्वर चक्रपथ पनि चिनिँया सरकारकै सहयोगमा सम्पन्न भएको थियो । सोही प्रारुपमा कलंकी—महाराजगन्ज खण्ड निर्माण हुनेछ ।